काठमाडाैँ - उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्। बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजले आयोजना गरेको विज्ञान प्रदर्शनीको उद्घाटन गर्दे सिंहले विज्ञान र प्रविधिको विकास बिना मुलुकले प्रगति गर्न नसक्ने पनि बताए।
पछिल्लो समय विशेष गरेर विज्ञान र प्रविधिको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले ठुलो परिवर्तन ल्याएको बताउँदै सिंहले भने, 'अहिले त विज्ञानबाहेक के पढ्ने? विज्ञानको विकास बिना के विकास होला र भन्नेजस्तो समय आइसकेको छ। तसर्थ अब हामी सबैको ध्यान त्यतैतर्फ जानुपर्छ।'
सरकारले अब शिक्षा निति बनाउँदा यस विषयलाई प्राथमिकता दिनुपर्ने सिंहको भनाइ थियो। युवा पुस्ता र विशेष गरी विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्त्व जगाउन यस्ता कार्यक्रम फलदायी भएको बताए।
राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अहिलेको अवस्थामा शैक्षिक संस्थाहरूले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई गुन लगाएको सिंहले बताए। विद्यार्थीले सैद्धान्तिक रूपमा जानेको ज्ञान र सिपलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउन यस्ता प्रदर्शनीले मद्दत पुर्याउने बताउदै सिंहले भने, ‘नेपालजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरोकारवालालाई प्रेरणा मिल्नेछ।'
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो। कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो। कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्था भएको भन्दै प्रशंसा गरे।
नीजि शैक्षिक संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले पूर्ण रूपमा उपलब्ध गराइरहेको जानकारी गराउँदै नगरप्रमुख अधिकारीले भने, ‘आर्थिक विपन्न र जेहेन्दार विद्यार्थीलाई पढाउने सन्दर्भमा साउथवेस्टर्न कहिले पनि नाइ भनेको छैन। यस हिसावले पनि साउथवेस्टर्न धन्यवादको पात्र बनेको।’
कार्यक्रममा कलेजका अध्यक्ष इन्जिनियर वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास बिना कुनै पनि अविष्कार गर्न नसकिने बताउनुहुँदै साउथवेस्टर्न कलेजले स्थापना कालदेखि नै विज्ञान र प्रविधिलाई जोड दिँदै आएको जानकारी दिए।
कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सोलार अवलोकन, साङ्गीतिक कार्यक्रम लगायतका प्रस्तुती रहने छ। प्रदर्शनीबाट विज्ञान र प्रविधिको क्षेत्रमा लाग्न युवा प्रतिभालाई हौसला मिल्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा नीजि तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीको तर्फबाट ६० वटाभन्दा बढी स्टलहरू राखिएको छ। प्रदर्शनीमा सहभागी विद्यार्थीलाई विभिन्न चरणको प्रतियोगितामा सहभागी गराएर नगद, शिल्ड तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ। शुक्रबारसम्म चल्ने प्रदर्शनीमा २५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
२०६७ सालमा स्थापना भएको यस कलेज हाल साउथवेस्टर्न समुहअन्तर्गत सञ्चालित छ। यस समूहअन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेन्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एन्ड पिएचडी स्टडिज, साउथवेस्टर्न बिज्नेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टर लगायतका शैक्षिक संस्थाहरू सञ्चालनमा छ। यी संस्थामार्फत हाल प्ले ग्रुपदेखि पिएचडीसम्मको अध्ययन भइरहेको छ।