काठमाडाैँ- नेपाल टेलिकमले ‘भोवाईफाई’ (VoWiFi) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। मंगलबार टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा यो सेवा औपचारिक रूपमा सुरु गरिएको हो ।
यस प्रविधिमार्फत ‘भोवाईफाई’ सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएका कुनै पनि मोबाइल फोनबाट नेपालभित्र तथा विदेशबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गरी भ्वाइस तथा एसएमएस सेवा लिन सकिनेछ। कम्पनीका अनुसार नेपालभित्र यो सेवा प्रयोग गर्दा साविककै भ्वाइस/एसएमएस प्याकेज वा पे-एज-यू-गो दरअनुसार शुल्क लाग्नेछ। विदेशबाट यो सेवा प्रयोग गर्दा आगमन कल (incoming call) निःशुल्क हुनेछ भने बाहिर जाने कलको शुल्क प्रति मिनेट रु. ३ लाग्नेछ। ‘भोवाईफाई’ सेवाको सुरुवातसँगै ग्राहकहरूलाई थप सहज र प्रविधिमैत्री सञ्चार सेवा उपलब्ध गराउने कम्पनीले योजना ल्याएको छ।
यसका साथै दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एक वर्षमा ६ अर्ब २३ करोड खुद मुनाफा आर्जन गरेको जनाएकाे छ। आर्थिक वर्ष २०८०/८१ मा टेलिकम ६ अर्ब २३ करोड खुद मुनाफामा रहेको हो।
यस वर्षभरी कम्पनीको कूल आय ४२ अर्ब ११ करोड रहेको छ भने खुद मुनाफा ६ अर्ब २३ करोड रहेको छ। जुन अघिल्लो वर्षको तुलामा केही कम रहेको कम्पनीले जनाएको छ। समग्र अर्थतन्त्रका सूचकांक नकारात्मक रहेको अवस्थामा कम्पनीले भने मुनाफा आर्जन गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आयआर्जन गरिसकेको छ। मंगलबार टेलिकमले वार्षिकोत्सवको अवसरमा ई-सिम नेपाल टेलिकम एप र वेबसाइटमार्फत लिन सकिने घोषणा समेत गरिएको छ।
यसका साथै टेलिकमले चालु आर्थिक वर्षभित्र टुजी सेवा बन्द गर्ने भएको छ। यही आर्थिक वर्ष भित्रमा १८०० मेगाहर्जको टुजी सेवा बन्द गरिने कम्पनीले जनाएको छ।
के हो भोवाईफाई
‘भोवाईफाई’ अर्थात् भ्वाइस ओभर वाईफाई एक प्रविधि हो, जसले प्रयोगकर्तालाई वाईफाई नेटवर्कमार्फत फोन कल तथा एसएमएस सेवा प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्छ। सामान्यतया, मोबाइल कलहरू सेलुलर नेटवर्क (जस्तै टुजी, थ्रीजी, फोरजी) को माध्यमबाट गरिन्छ। तर ‘भोवाईफाई’ सेवाले मोबाइल नेटवर्क नभएको ठाउँमा पनि वाईफाईमार्फत कल गर्न र एसएमएस पठाउन सक्षम बनाउँछ।
यदि तपाईंको मोबाइलमा ‘भोवाईफाई’ सपोर्ट गर्ने फिचर छ र भोल्टे सेवा सक्रिय छ भने तपाईं आफ्नो मोबाइल नेटवर्कको साटो वाईफाईको माध्यमबाट फोन कल तथा एसएमएस पठाउन सक्नुहुन्छ।
मोबाइल टावरको कमजोर सिग्नल भएका स्थानहरू जस्तै; घरभित्र, भूमिगत क्षेत्र वा दूरदराजका ठाउँहरूमा पनि ‘भोवाईफाई’ सेवाले वाईफाई इन्टरनेटमार्फत सम्पर्क सम्भव बनाउँछ। विदेशमा रहँदा पनि यदि तपाईं वाईफाई नेटवर्कमा हुनुहुन्छ भने नेपाल टेलिकमको ‘भोवाईफाई’ सेवाबाट नेपालभित्रै जस्तै कल गर्न र एसएमएस पठाउन सक्नुहुन्छ।