काठमाडाैँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गलत लिखत तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रप्रसाद सापकोटासहित ९ जनाविरुद्ध माघ २१ गते सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कालीगण्डकी गाउँपालिका- १ स्थित देउराली माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेतको मिलेमतोमा शिक्षक नियुक्तिमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो।
अनुसन्धानका क्रममा उक्त विद्यालयको माध्यमिक तह (कक्षा ९-१०) को अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रम अन्तर्गतको रिक्त शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनमा उनीहरूले अनियमितता गरेका थिए।
'प्रचलित ऐन तथा नियमावलीमा उल्लेख भए अनुसारको विधि तथा प्रक्रियाको आधारमा नियुक्ति गर्नुपर्नेमा शिक्षक छनोटको कुनै कानूनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेको भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको पाइएको छ,' आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
साथै उनीहरूले बेपत्ता व्यक्तिको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालीगण्डकी गाउँपालिका, गुल्मीमा पेश गरी गैरकानूनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुस्ट तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखापरीक्षणसमेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको देखिएको आयोगले जनाएको छ।
आयोगले सापकोटाका साथै तत्कालीन प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य सचिव मित्रलाल पाण्डे, विद्यालय कर्मचारी सहायक (लेखा) प्रेमनारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेलाई पनि प्रतिवादी बनाएको छ।
उनीहरू विरुद्ध जनही ८ लाख ८७ हजार ८८० रुपैयाँ बिगो कायम गरेर कैद तथा जरिवाना दुवै सजायको मागदाबी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।