काठमाडाैँ - लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समय अनुकुल शिक्षा नीतिमा सुधार गर्न ध्यान दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले देशको विकाससँगै रोजगारीका लागि महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षालाई समय अनुकुल बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।
देश विकासका लागि शिक्षाको महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले नागरिकलाई सचेतनासँगै समृद्धिका लागि समय अनुकुल शिक्षा नीति बन्न आवश्यक रहेको बताएका हुन्। बद्लिदो समय अनुकुल शिक्षा नीति बन्न नसक्दा लुम्बिनीमा शिक्षाको अवस्था कमजारे रहेको भन्दै उनले वर्तमान समय अनुकुल पढेपछि आफ्नै ठाउँमा केही गरिखाने शिक्षा नीति आवश्यक रहेको बताए। उनले शिक्षा नीति परिवर्तनका लागि अहिले सङ्घीय सरकारले पहल थालेको भन्दै देशको माटो सुहाउँदो अध्ययन पछि आफ्नै देशमा केही गरिखाने शिक्षाको आवश्यकता रहेको बताए।
उनले गत वर्षको एसइई परिक्षामा ८० हजार तीन सय २७ जनाले परीक्षा दिएकोमा ३९ प्रतिशत अर्थात् ३१ हजार एक सय छ जना विद्यार्थी उत्तीर्णले प्रदेशको कमजोर अवस्था देखाएको बताए। त्यसमा पनि सामुदायिक विद्यालयमा करिब २८ प्रतिशत मात्रै उत्तीर्ण भएको तथ्याङ्क रहेको भन्दै यसमा व्यापक सुधार गर्न आवश्यक रहेको जानकारी गराए।
एसइईमा पास हुन नसकेका बाँकी ४९ हजार विद्यार्थी कहाँ छन्, उनीहरुको बारेमा सबैको चासो हुनुपर्ने भन्दै मन्त्री तिमिल्सिनाले भने, 'शिक्षा प्रणालीमा सुधार गर्दै हराएका विद्यार्थीलाई पढाईमा ल्याउनका खोजी गर्नुपर्छ। हराएका विद्यार्थीले के गर्दैछन भनेर अभिलेख समेत राख्न सक्नुपर्छ।'
मन्त्री तिमिल्सिनाले देशलाई विकासको सही बाटोमा हिँडाउन जनसाङ्ख्यिक लाभको अधिकतम उपयोगमा सरकारले ध्यान दिनुपर्ने बताए। उनले भने ,' देश विकासका लागि शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको भन्दै छ। अध्ययन गरेर रोजगारमा जोडिने बेला युवा जनशक्ति विदेश जाने अवस्था रहेको छ, यसलाई परिवर्तन गर्दै पढि सकेपछि आफ्नै ठाउँमा काम गरिखाने शिक्षाको आवश्यकता छ।'
देश विकासको सिङ्गो प्रणालीलाई सञ्चालन गर्ने प्रमुख हतियार शिक्षा रहेको भन्दै मन्त्री तिमिल्सिनाले भने, 'शिक्षा नीतिलाई समय अनुकुल सुधार र परिस्कृत गर्दै अघि बढ्नसके मात्र देशको समृद्धि हुन सक्छ। यहि अवस्था रहिरहने हो भने अवको तीस वर्षपछि देशमा युवा जनशक्ति नै नभेटिन सक्छ।' शिक्षालाई ओझेलमा पार्न खोज्दा यसको असर विकास निर्माणमा परिरहेको भन्दै उनले देखा परेका समस्यालाई समीक्षा गर्दै तथ्याङ्कले बोलेको कुरालाई आत्मसात गरेर सुधारको बाटोमा लाग्नुपर्ने बताए।
'निश्चित समयमा गरिनुपर्ने काममा राज्यले ढिलाई गर्यो भने यसको असर चौतर्फी रूपमा पर्छ। युवाहरुलाई देशमै उपयोग गर्न र लाभ उठाउन ढिलाई गर्नु हुँदैन। युवालाई रोजगारी, प्रविधि, पर्यटन, शिक्षालगायत क्षेत्रमा जोड्न जरुरी छ', मन्त्री तिमिल्सिनाले भने, 'शिक्षामा गुणस्तर कायम गर्दै युवा जनशक्तिलाई भरपुर उपयोगमा प्रदेश सरकारले अहिले ध्यान दिएको छ । यसका लागि शिक्षामा सुधारको प्रयास भइरहेको छ।'