काठमाडाैँ - बागलुङको विद्यामन्दिर पुस्तकालयले बसन्त पञ्चमीको पूर्वसन्ध्यामा विद्यालय उमेरका नानीबाबुहरुका लागि बाल पुस्तकालय सञ्चालनमा ल्याएको छ। बसन्त यामअगावै विद्यामन्दिरले बाल पुस्तकालय सञ्चालन गर्ने लक्ष्यका साथ आर्थिक तथा सहयोग सङ्कलन अभियान सुरु गरेको थियो।
पुस्तकालयको ७८ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रमका बिच बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बाल पुस्तकालयको उद्घाटन गरे। उद्घाटनपछि बोल्दै नगरप्रमुख श्रेष्ठले बालमैत्री नगर अभियानलाई दिगो बनाउन बाल पुस्तकालयले महत्त्वपूर्ण योगदान पुर्याउने चर्चा गरे। गत माघ ९ गते बागलुङ नगरपालिकालाई भव्य कार्यक्रम गरी बालमैत्री नगर घोषणा गरिएको थियो।
पुस्तकालयका सल्लाहकार परिषद् सदस्य श्याम श्रेष्ठले एक लाख सहयोग गरेसँगै बाल पुस्तकालयका लागि सहयोग जुट्न सुरु गरेको थियो। बाल पुस्तकालयको स्रोत व्यवस्थापन र दिगोपनाका लागि विभिन्न दाताहरुले चार अक्षयकोष खडा गरेको पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिए। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, बागलुङका स्थानीय तहबाट पनि सहयोग प्राप्त भएको पुस्तकालयले जनाएको छ।
पुस्तकालयका पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले आफ्नी छोरी आराजु श्रेष्ठको स्मृतिमा रु. ५५ हजार पाँच सय ५५ रुपैयाँ को अक्षयकोष स्थापना गरेका हुन्। गलकोट मल्मका लक्ष्मी थापा, अष्ट्रेलियामा रहनुभएका पुनम थापा, पूजा थापा र काठमाडौँमा रहेका कृपा थापाले दिवंगत हजुरबुबा महावीर थापा र हजुरआमा पवित्राकुमारी थापाको नाममा रु. ५१ हजार आठ सय १७ रुपैयाँको ‘महावीर-पवित्रा स्मृति अक्षयकोष’ स्थापना गरेका छन् ।
यस्तै, पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका-३ का गगन पुनले आफ्ना बुबा टीकाराम पुनको स्मृतिमा ५० हजार राशीको र बागलुङ-२ निवासी सुन्दरी श्रेष्ठले आमा भद्रकुमारी राजभण्डारीको स्मृतिमा २५ हजारको अक्षयकोष स्थापना गरेका छन्।
पुस्तकालयका लागि आवश्यक सूचना-प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङरोगन र साजसज्जाका लागि विभिन्न सामग्री सहयोगदाताहरुले उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिए। बाल पुस्तकालयका लागि झण्डै १२ लाख रुपैयाँ खर्च गरिएको छ। बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै बालबालिकामा पठन सीपको विकास गर्ने उद्देश्यले बाल पुस्तकालय सञ्चालन गरिएको थापाले बताए।
धवलागिरिको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा पुस्तकालयलाई लिने गरिन्छ। स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक संग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले करिब १८ हजार पुस्तक छन्। पुस्तकालयमा विद्युतीय पुस्तकालय पनि सञ्चालित छ।