काठमाडाैँ - अस्ट्रेलियाका चित्रकारले दिक्तेलमा विद्यार्थीलाई निःशुल्क चित्र कोर्न सिकाउन सुरु गरेका छन्। तीन महिनासम्म निःशुल्क विद्यार्थीलाई चित्र बनाउन सिकाउन आएका अस्ट्रेलियाका वरिष्ठ चित्रकार रे मार्सदेनले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क पढाउन सुरु गरेका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो वर्ष आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा भाग लिन आउनुभएका कलाकार मिस्टर रे अहिले विद्यार्थीलाई चित्र बनाउन सिकाउन आएका हुन्।
दिक्तेल वरिपरिका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका ३५ जना विद्यार्थी चित्रकला कक्षामा सहभागी भएका छन्। एक महिनासम्म सरस्वती माध्यमिक विद्यालयमा उक्त विद्यार्थीहरुले चित्र बनाउन सिक्ने नगरपालिकाले जनाएको छ। त्यसपछि पुनः अर्को विद्यालयमा लगेर नजिकका विद्यार्थी समेटेर चित्र बनाउन सिकाउने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले बताए।
हाल मिस्टर रे तीन महिनाको लागि नेपाल आएका छन्। भिजा मिलेमा अन्य समय पनि खोटाङमा बसेर विद्यार्थी पढाउने उनको तयारि छ। सोही अनुसार भिजा मिलाउन लागिएको मेयर भट्टराईले बताए। अष्ट्रेलियासँगै जर्मनीका चित्रकारले पनि दिक्तेलमा आएर निःशुल्क चित्रकला सिकाउने तयारी भइरहेको उनको भनाइ छ। विद्यार्थी तहबाटै उत्कृष्ट चित्रकार जन्माउन नगरपालिका लागिरहेको मेयर भट्टराईले बताए।
नगरपालिकाले २०८० असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो। उक्त चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित १४ देशका ४३ चित्रकारले १०६ थान चित्र तयार पारेका थिए। नगरपालिकाले २०८० फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म नेपाल कला परिषद, बबरमहल, काठमाडौँमा चित्रकला प्रदर्शनी समेत आयोजना गरेको थियो। दिक्तेलमा तयार पारेर काठमाडौँमा लगेर प्रदर्शनमा राखिएपछि पुनः दिक्तेलमा ल्याइएका क्यान्भासलाई राखेर मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय स्थापना गरिएको छ।
दिक्तेलस्थित चिल्ड्रेनपार्क तथा सपिङ कम्प्लेक्सको पाँच वटा कोठामा १८२ थान चित्र राखेर कला सङ्ग्रहालय स्थापना गरिएको हो। जिल्लाको पर्यटन प्रवर्धनसँगै कला, साहित्य र मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि कला सङ्ग्रहालय स्थापना गरिएको मेयर भट्टराईले बताए। जिल्ला सदरमुकाम दिक्तेलमा स्थापना गरिएको सङ्ग्रहालयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका थिए।