काठमाडाैँ - नेपाललाई शैक्षिक हबका रुपमा विकास गर्न सकिने विषयमा विज्ञहरुले आफ्नो धारणा राखेका छन्। माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको फेयेर एक्सप्रेस मिडिया प्रा.लीले आठौँ वार्षिकोत्सव समारोहमा नेपाललाई एजुकेशन हबका रुपमा विकास गर्न सकिने बिषयमा सरोकारवालाबीच 'प्यानल डिस्कसन' गरेकाे हो।
उक्त समाराेहमा सराेकारवालाले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने सवालमा रायसल्लाह दिएका छन्।
कार्यक्रममा केएमसीका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदीले नेपाललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने आधार सहितको प्रस्तुतिकरण पेस गरेका थिए।
नेपाल शैक्षिक परामर्श संघ ईक्यानको अध्यक्ष शेषराज भट्टराईले नेपाल सरकारले शिक्षा नीति प्रक्रियालाई विशेष ध्यान दिइ शैक्षिक निती निर्माण परिमार्जन गर्न सकियाे भने नेपाललाई शैक्षिक हब बनाउन सकिने बताए। उनले नेपालबाट गएको विद्यार्थी संख्या हेरेर आत्तिनु भन्दा नेपालमा भएको विद्यार्थीलाइ रोजगारकाे अवसर प्रदान गर्न सकियाे भने बाहिरिएका विद्यार्थीलाई नेपाल भित्राउन सकिने बताए।
यस्तै विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयका सम्पूर्ण जानकारी दिने काम पनि यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए।
आइप्यानका अध्यक्ष लक्ष्मण केसीले विदेशी विद्यार्थीलाई अध्ययनका लागि नेपालमा ल्याउन अहिले उपयुक्त वातावरण सिर्जना भएको बताए। उनले देशमा धेरै पहिलेदेखि नै नेपाललाई ‘शैक्षिक हब’ बनाउने विषय अगाडी बडेकाे तर गुणस्तरीय शिक्षा प्रदान गर्ने कुराको ग्यारेन्टी गर्न नसकेकाे बताए। हाल नेपालमा अमेरिका, वेलायत, मलेसिया, थाईल्याण्ड, स्विजरल्याण्ड, अष्ट्रिया लगायतका देशका विश्वविद्यालयहरूको सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको संख्या पनि बढेकाे केसीले बताए।
'नेपालमा विश्वस्तरका विश्वविद्यालयको डिग्री प्राप्त गर्ने अवसर पाउँदा विभिन्न देशबाट विद्यार्थी हाम्रो देशमा अध्ययनका लागि आउन लालायित हुने हामीलाई विश्वास छ।'अध्यक्ष लक्ष्मण केसी भन्छन्, 'नेपालमा आएर सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाउनुका साथ-साथै हाम्रो देशको हावा पानी, भौगोलिक सुन्दरता, समाजिक सद्भाव, कुनै पनि धर्म वा जातिका मान्छेलाई भेद्भाव नगर्ने हाम्रो संस्कार आदिको कारण पनि नेपाल विदेशी विद्यार्थीहरूको रोजाइमा पर्नेछ।'
शिक्षाबिद् विद्यानाथ काेइरालाले प्रकृतिलाई क्रितिम तरिकाले सिङ्गार्न सक्यो भने नेपाललाई विषेश शेक्षिक हब बनाउन सकिने बताए। उनी भन्छन्, विद्यार्थी विदेश जान्छ भनेर पिर गर्नेले नेपाल ल्याउने निति पनि बनाउनुपर्छ। नेपालको विद्यार्थी विदेश जानू समस्या हैन सम्भबना हो, उनिहरुले विदेशी उच्च शिक्षा तथा सिप नेपालमा भित्राउँछन्। काेइराला भन्छन्,'नेपालमा बाहिरको विद्यार्थीहरू भित्राउन सबै शैक्षिक संघसंस्थाको उपस्थित र सहमतिमा कार्य योजना बनाउन जरुरी छ।'
उनले भने,' सबै सराेकारवालालाई विद्यार्थी विदेश गयो भन्ने चिन्ता छ तर कसरी रोक्न सकिन्छ भन्ने समाधानको उपायलाई चै पाखा लगाउछन्।' हामी उदाहरणको लागि यसरी हेराैँ कुनै कोठा अध्यारो छ भनेर देख्नेले अध्यारो छ नै भन्ने हाईन उज्यालो कसरी बनाउन सकिन्छ भनेर समाधानको उपायहरू बताईदिने हो।'
नेपाल शैक्षिक परामर्श महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाल शैक्षिक परामर्श संघहरूलाई अपराधीको नजरले हेर्न बन्द गर्नुपर्ने बताए। परामर्श दातासँग सहकार्य गरि नेपाली विद्यार्थीहरु विदेश गहिरहेका छन् त्यो बारे खोज गरौँ बरालले भने,' महासंघले विद्यार्थीहरु पठाउन मात्र हौँसला दिने गरेको छैन रोक्ने अवसर पनि देखाईरहेको छ त्याे पनि हेराैँ।' नेपाल शैक्षिक परामर्श ऐन बनाउन जरूरी रहेकाे बताए।
हिसानका अध्यक्ष रमेश शिलवालले विश्वविद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाए मात्र नेपाललाई एजुकेशज हब बनाउन सकिने बताए। ‘विद्यालय शिक्षा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छ, तर उच्च शिक्षामा विदेश जाने विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने। विश्वविद्यालय सुधार गरेरमात्रै विदेश जाने विद्यार्थी र पैसा रोकी नेपालमा भित्राउन सकिन्छ। ‘आंगिक, सामुदायिक र निजी क्षेत्रको भूमिका तथा योगदानलाई सशक्त बनाउनुपर्छ, त्यति गर्न सके स्वदेशीमात्र होइन, विदेशी विद्यार्थी ल्याएर शैक्षिक हब बनाउन सकिन्छ।’
उनी भन्छन् , सरकारले कम्तीमा स्नातक तहपछि मात्रै अध्ययनका लागि विदेश जान पाउने नीति ल्याउनु पर्दछ। ‘छात्रवृत्तिमा पढ्न जान दिनुपर्छ, नेपालमा नभएका विषयमा मात्रै विदेश पढ्न जान दिनुपर्छ, त्यसो गरे नेपाली विद्यार्थीलाई रोकी विदेशी विद्यार्थीको ध्यानकार्षण गराउन सकिन्छ,’ उनले भने।
निजी क्षेत्र नेपाललाई शैक्षिक हब बनाउन तयार रहेको उनले जनाए। ‘लगानीको संरक्षण, फैलावट गरेर गुणस्तरीय शिक्षा दिन तत्पर छौँ, तर सरकारले भूमिका दिनुपर्छ, ऐन कानुन सहज हुनुपर्छ।’ छिटोभन्दा पनि राम्रो शिक्षा ऐन आवश्यक रहेको उनले बताए। ‘शिक्षा ऐन आउन सकेको छैन, निष्कर्षमा पुग्न सकेको छैन, सबै सरोकारवालाको सुझावमा विद्यार्थी, अभिभावक, समुदाय र निजी क्षेत्र मैत्री शिक्षा ऐन चाहिन्छ,’ सिलवालले भने। त्यो गर्न सके शिक्षामा विदेशी लगानी भित्र्याउन सकिने उनले बताए।