काठमाडाैँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताएका छन्। सानोठिमीस्थित एसओएस स्कूलले आफ्नै प्राङ्गणमा आयोजना गरेको ‘स्पोर्टस् मिट-२०८१’ को उद्घाटन गर्दै उनले शिक्षा नीति परिवर्तन गरेर रोजगारीमूलक शिक्षा नीति ल्याउनु आवश्यक रहेको बताएका हुन्।
मन्त्री गुरुङ्गले भने, 'देशको व्यबस्था बदलियो, राजनीति बदलियो, नेता बदलिए तर शिक्षा नीति बदलिएन २०२८ सालकै शिक्षा नीतिले अहिलेसम्म चलिरहेको छ। अहिले हातमा सीप भएको प्राबिधिक, सीपमूलक र जीवनउपयोगी शिक्षाको आवश्यकता छ। एक हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप लिएर आत्मनिर्भर हुनसक्ने शिक्षा नीति जरुरी छ।' अहिलेको शिक्षा नीति परिवर्तन गर्न शिक्षा ऐन संशोधनका लागि मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधिसभामा पठाएको उनले बताए।
समावेशी र गुणस्तरीय शिक्षा आजको आवश्यक रहेको भन्दै उनले समाजमा पछि परेका, हेपिएका सबै वर्गका विद्यार्थीको गुणस्तरीय शिक्षामा पुहँच पुर्याउँदै अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीनजस्ता देशहरुको शिक्षा र सीपसँग नेपालका विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको औँल्याए।
अचेल मन्त्रालयमा गाउँगाउँबाट टेलिफोन चाहियो, टेलिफोनको टावर बनाउन पर्यो भनेर आउँने गरेको बताउँदै उहाँले देशभरका घरघरमा फोरजीको इन्टरनेटसहितको टेलिफोन पुराउने गरी काम गरिररहेको बताए। सरकारले सबै कार्यालयमा विद्युतीय सुशासन कायम गर्ने गरी फाइबर लाइन बिस्तार गरिरहेको बताउँदै उनले सबै सरकारी कार्यालय एवं वडा तहसम्म इगभर्नेन्स लागू गर्ने बताए।
मन्त्री गुरुङ्गले विश्व एआईको जमानामा प्रवेश गरिसकेको भन्दै नेपाल पनि एआई प्रविधिका प्रवेश गर्दै विकासमा अगाडि बढ्नु पर्ने बताए। उनले एआईको कृतिम बौद्धिकताको नीति बनाएर कृषि उत्पादनमा वृद्धि, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रको विकासमा लाग्नु पर्ने बताए।
अहिलेका विद्यार्थीले सूचना प्रविधि पढेर घरमै बसेर लाखौँ कमाउन सक्ने भएको भन्दै सूचना प्रविधिको भविष्य उज्ज्वल रहेकाले यसतर्फ विद्यार्थीको चासो अगाडि बढ्नु पर्ने बताए।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, विद्यालयकी प्रिन्सिपल रञ्जना बजगाई लगायतले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकपालमा पनि दक्ष र योग्य बनाउनु पर्नेमा जोड दिए।