काठमाडाैँ - बाजुराको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभूत विद्यालयले बालबालिकाको पढाइमा सुधार ल्याउन थप निःशुल्क कक्षा सञ्चालनमा ल्याएको छ।
जिल्लाको दुर्गम गाउँ बस्तीमा रहेको यस विद्यालयको गत आइतबार माघ ६ गते बसेको शिक्षक अभिभावक सघको आम भेलाले यहाँका बालबालिकाको पढाइमा सुधार ल्याउन थप निशुल्क कक्षा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
विद्यालयमा प्राय जनजाती (भोटे समुदायका) अनाथ विपन्न बालबालिकाहरु पढ्ने भएकोले उनीहरुको शैक्षिक अवस्थामा सुधार गर्नका विद्यालयममा थप निःशुल्क कक्षा सञ्चालन ल्याउने निर्णय गरेपछि आजबाट थप निशुल्क कक्षा सञ्चालनमा ल्याएको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभूत विद्यालयले जनाएको छ।
बालबालिकाहरुको पढाइमा परिवर्तन ल्याउनका लागि हामीले चिसोको परवाह नगरी हिउँमाथि आम भेला बसालेर निर्णय गरेपछि विद्यालयले आजबाट थप निःशुल्क कक्षा सञ्चालनमा आएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष टक्क थापाले बताए।
उनले भने, 'यो थप कक्षाले यहाँका बालबालिकाको पढाइमा थप प्रोत्साहन गर्नुका साथै आगामी चैतमा आउने अन्तिम परीक्षामा समेत सहज हुन्छ।'
जिल्लाको एक विकट क्षेत्र तथा यो विद्यालयमा प्रायः दलित अनाथ र जनजातिका बालबालिका मात्र पढ्ने गरेकोले उनीहरुको शैक्षिक क्षेत्रमा परिवर्तन ल्यानका लागि यहाँका सबै अभिभावकले यो थप कक्षा पढाउने शिक्षकहरुलाई व्यवस्था गर्ने सहमति भएको थापाले बताए।
यो जिल्लाको एक जनजातिको विद्यालय हो। यहाँका प्रायः पछिल्लो समय भोटे भाषा पढाइ हुँदै आएको छ। अहिले यो विद्यालयमा झण्डै १४८ भन्दा बढी बालबालिका अध्ययन गर्दै आएका छन्। यो विद्यालयमा पढ्ने बालबालिकाको अवस्था निकै दयनीय भएकोले पछिल्लो समय विभिन्न ठाउँबाट सहयोग मिल्दै गएको प्रधानाध्यापक तुलाबहादुर रावतले बताए।