काठमाडौँ - नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीका माग सम्बोधन गराउन सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन्।
माघ ५ गते शनिबार नेपाल विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेश कार्यसमितिको पूर्ण बैठकलाई दाङको देउखुरीमा सम्बोधन गर्दै अध्यक्ष तिवारीले दबाबका लागि सबै विद्यालय कर्मचारी एकजुट हुनुपर्ने बताए।
उनले विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नका लागि संगठनात्मक दबाब सिर्जना गर्नुपर्ने बताउँदै अध्यक्ष तिवारीले विद्यालय कर्मचारीका माग सम्बोधन गर्ने विषयमा आफूहरूले केन्द्रीय सरकारलाई निरन्तर घचघच्याउने गरिरहेकाले त्यसको सकारात्मक परिणाम छिट्टै आउने बताए।
अध्यक्ष तिवारीले केही दिनअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग भएको भेटवार्ता अत्यन्तै फलदायी भएको जनाउँदै त्यसबाट निकास निस्कने कार्यक्रममा बताए। उनले भने, ‘शिक्षामन्त्रीज्यूसँगको भेटवार्ता निकै फलदायी भएको छ। ढिला रिजल्ट आए पनि त्यो उपलब्धिपूर्ण हुनेछ।’
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक-२०८० मा पनि विद्यालय कर्मचारीको माग समेट्ने गरी अहिले विभिन्न चरणमा छलफल चलिरहेको बताउँदै अध्यक्ष तिवारीले छिट्टै विद्यालय कर्मचारीका समस्याले निकास पाउने बताए।
यसैबीच बैठकले नेपाल विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेशको रिक्त सचिव पदमा दुधराज चौधरीलाई मनोनीत गरेको छ। यसअघि प्रेम बहादुर जिसी परिषद्को सचिव थिए। उनि स्थायी शिक्षकमा पदस्थापन भएपछि सचिव पद रिक्त थियो।
बैठकले सदस्यता नवीकरण गरी विश्व शिक्षक महासंघमा परिषद् आवद्ध भएकोले १५ गतेभित्र सदस्य शुल्क जम्मा गरिसक्न जिल्लालाई निर्देशन दिएको छ। प्रदेश अध्यक्ष गोविन्द जिसीको अध्यक्षतामा सम्पन्न बैठकको सहजिकरण दाङका संगठन विभाग प्रमुख पूर्ण विकले गरेका थिए।