काठमाडाैँ - ढोरपाटन नगरपालिका-९ ढोरपाटनमा पहिलो सामुदायिक होमस्टे सुरु गरेका ५० वर्षीय रामबहादुर विद्यालय शिक्षक पनि हुन्।
रामबहादुरले २०७४ सालदेखि ढोरपाटन बिजौलीखोला माझचौरमा ५ रोपनी जग्गामा होमस्टे सुरु गरेका थिए। सँगसँगै कुखुरा र बाख्रा फार्म हाउस पनि चलाए। विद्यालय र होमस्टेमा समयको कुशल व्यवस्थापन गरिरहेका रामबहादुरले चलाएको होमस्टेमा वार्षिक ५/६ हजार पर्यटक आउने गर्छन्।उनले होमस्टेबाट सिजनमा राम्रो पैसा कमाउँछन्। आफ्नै फार्म हाउस, बोलेरो, ट्याक्टर, जेसीबी भएका कारण उनले विभिन्न ठाँउबाट राम्रै आम्दानी गर्ने गरेका छन्।
श्री जनचेतना आधारभूत विद्यालय सुपाङमा पढाउने रामबहादुरकी श्रीमती पनि सोही विद्यालयमा राहत दरबन्दीमा कार्यरत छिन्। विद्यालय शुक्रबार बिदा भएपछि श्रीमान्-श्रीमती नै होमस्टे फर्किन्छन्।
मोटरसाइकलमा होमस्टे र विद्यालयको दुरी ३० मिनेट छ। शनिबार दिनभरि होमस्टेमा काम गर्छन्। आइतबार बिहान विद्यालय पुग्छन्। ढोरपाटनमा शुक्रबार र शनिबार नै बढी पर्यटक आउने भएकाले आफूहरू सोही दिनमा होमस्टे पुग्ने उनले सुनाए।अरू दिन भने तीन जना कामदारले होमस्टे चलाउँछन्। २ वटा हलसहित उनको होमस्टेमा १४ कोठा छन्। एक रातमा ४० देखि ५० जनासम्मलाई सुत्ने व्यवस्था मिलाउन सक्ने रामबहादुरले बताए।
प्रतिपर्यटक प्रतिरात बास बसेको र दुई छाक खाएको १ हजार २ सय रुपैयाँ लिन्छन्। विभिन्न संघसंस्थाबाट आउने समूहलाई हलमा राख्ने गरेका छन्। पुस र माघबाहेक अरू बेला कम्तीमा १५/१६ जना पर्यटक दिनहुँ हुन्छन्।
शुक्रबार र शनिबार अझै बढी हुन्छन्। सिजनमा भने ३० देखि ४० जनासम्म पर्यटक दैनिक राख्ने गरेको रामबहादुर खुसीसाथ सुनाउँछन्। ढोरपाटन शिकार आरक्ष भन्ने बित्तिकै देशकै पहिलो र एकमात्र शिकार आरक्ष भएकाले पर्यटक यहाँ पुग्न लालायित हुनु स्वाभाविक हो । देउराली पुग्ने बित्तिकै ढोरपाटनले सबैलाई मोहित बनाउँछ।
कञ्चन उत्तरगंगा खोला, सुन्दर र समथर भूबनोट, बुकीफूल फुलिरहेको र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गर्छन्। ढोरपाटनबाट बुँकी र जलजला क्षेत्र पुगेर हिमालका सुन्दर दृश्य हेर्न लालयित हुन्छन्।
ढोरपाटनबाट जलजला साढे दुई घण्टामा पुगिन्छ भने बुँकी जाँदा पैदल यात्रा गर्नुपर्ने भएकाले ५/६ घण्टा लाग्छ। वर्षेनि यहाँ पर्यटक संख्या बढ्दै गएको रामबहादुर सुनाउँछन्। सिजनमा एकैदिन सयौं पर्यटक ढोरपाटन उक्लिन्छन्।
दशैंपछिको सिजनमा पनि मासिक ३ देखि ४ लाखसम्म कमाउने रामबहादुर अन्य समयमा भने १ लाख जति आम्दानी हुने बताउँछन्। आफ्नै अर्गानिक उत्पादन पर्यटकलाई खुवाएर खर्च घटाउने काम गरेको उनी सुनाउँछन्।
यात्रु तथा सामान ओसार्ने उनको आफ्नै बोलेरो गाडी छ। बुर्तिबाङ बजारदेखि दैनिक तलमाथि गर्ने उनको बोलेरोले होमस्टे आउने पाहुना लिएर आउँछ, लैजान्छ। खाद्यान्न सामग्री बोकेर आउँछ। गाउँमा भएका उत्पादन बोकेर बुर्तिबाङ बजार झर्छ । त्यसो गर्दा उनले आम्दानी गर्छन्।
पुस र माघमा अत्यधिक जाडो हुने भएकाले खासै पर्यटक जाँदैनन्। ढोरपाटनकै मान्छे पनि जाडो छल्न बेँसी झर्ने गर्छन्। ढोरपाटन क्षेत्रमा हिउँ पर्न थालेपछि बोवाङ-९ तिर बसाइँ झर्छन्।फागुनदेखि बर्खा नलागुन्जेल ढोरपाटनमा चहलपहल हुन्छ। पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल तथा सार्वजनिक सञ्चारमाध्यमबाट ढोरपाटनबारे प्रचारप्रसार हुन थालेपछि पर्यटक संख्या दोब्बर बढेको रामबहादुरको अनुभव छ।
जनैपूर्णिमा, वैशाख पूर्णिमामा अधिक पर्यटक जाने पुग्ने गर्छन्। यिनै पूर्णिमा पारेर उत्तरगंगा मन्दिर दर्शन गर्न ठूलो संख्यामा भक्तजन आउने गर्छन्। दशैँलगत्तै पनि ढोरपाटन पुग्ने पर्यटक संख्या अत्याधिक हुने गरेको छ।
‘त्यतिबेला त बस्ने ठाँउको पनि अभाव हुन्छ, होमस्टेमा बस्ने ठाउँ नै हुँदैन। कतिपय त बस्न नपाएर फर्किएको पनि थाहा पाएको छु,’ रामबहादुर भन्छन्, ‘अझै ढोरपाटन आउने सडक कालोपत्र भए कति पर्यटक आउलान् ?’ ढोरपाटन जान बुर्तिबाङबाट ३२ किलोमिटर कच्ची सडकमा यात्रा गर्नुपर्छ।
पर्यटक संख्या बढ्न थालेपछि उनले अहिले भएको होमस्टेको क्षमता पनि बढाउने सोच बनाएको बताए। शिक्षकबाट निवृत्त भएपछि पूरै समय यसमा नै लाग्ने सोच बनाएकाले पूर्वाधार थप्नतिर लागेको उनको भनाइ छ।रामबहादुरका तीन छोरा र चार छोरी छन्। छोराछोरीले पनि कहिलेकाहीँ काममा सघाउँछन्।
ढोरपाटनमा चार वर्ष अगाडि विद्युत् पुगेपछि त्यहाँको जनजीवन थप सहज भएको छ। विद्युत् पुगेपछि होमस्टेमा सेवा सुविधा थप गर्न पनि धेरै सहज भएको रामबहादुरको भनाइ छ। वासिङ मेसिन, तातोपानी जस्ता सुविधा विद्युत् भएकै कारण थपेका छन् ।
विद्यालय पढाउन थालेपछि र ढोरपाटनमा होमस्टे चलाउने सोच आएपछि आफूले भेडीगोठ त्यागेको उनले बताए। ढोरपाटन ‘पर्यटन गन्तव्यका रूपमा विकास हुँदै गएपछि अरू काम छाडेँ,’ रामबहादुर भन्छन्, ‘गाउँमै बसेर केही गर्न सकिन्छ, कमाउन सकिन्छ भनेपछि कहिल्यै अन्त जाने सोच पनि बनाइन।’
आफूले गरेको काम देखेर अरूले पनि ढोरपाटनमा होमस्टे सञ्चालन गरेको सुनाए। ढोरपाटनमा मात्रै १२ वटा होमस्टे बनिसकेका छन्। साना ठूला गरेर २२ जति होटल छन्।‘सबैले पूर्वाधारमा लगानी गरेका छन्। घरघरमा होमस्टे बनेका छन्। मलाई त खुसी लाग्छ,’ रामबहादुर भन्छन्, ‘निवृत्त भएपछि पूर्णकालीन रूपमा पर्यटन क्षेत्रमा नै लाग्छु भन्ने सोच छ।’
उनले होमस्टे सञ्चालन कसरी गर्ने, के–के विषयमा ध्यान दिने भन्नेबारे तालिम पनि दिने र अरूलाई सिकाउँदै आएका छन्। ढोरपाटन शिकार आरक्ष बनेपछि वन्यजन्तु संरक्षण सम्बन्धी चेतना समेत बढेको रामबहादुरले बताए
झारल, घोरलजस्ता जनावर ढोरपाटनको उत्तरी भेगतर्फ पाइन्छन्। रेडपान्डा जस्तो दुर्लभ वन्यजन्तु पनि यही भेगमा पाइने हुनाले पर्यटक ढोरपाटन शिकार आरक्ष हेर्न र घुम्न मन पराउने गरेको उनी बताउँछन्।