काठमाडाैँ - पोखरा महानगरपालिकाले कक्षा ८ को परीक्षालाई एसईई मोडलमा संचालन गर्ने भएको छ। त्यसका लागि पोखरा महानगरपालिका शिक्षा महाशाखाले ३७ परीक्षा केन्द्रहरु तोकेको छ।
महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परीक्षार्थीलाई सहज हुने तरीकाले परीक्षा केन्द्र तोकिएको बताए।यसअघि सरोकारवालासहित महानगर शिक्षा समितिको बैठकले विद्यार्थीले होम सेन्टररुपमा आफ्नै विद्यालयमा दिने वार्षिक परीक्षा परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोक्ने निर्णय गरेको थियो।
जसअनुसार परीक्षा सञ्चालन प्रणालीको मापदण्ड आधारमा विद्यार्थीलाई पायक पर्ने गरी केन्द्र तोकिएको छ। यस वर्ष पोखरामा १० हजार ५ सय २२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन्। जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका रहेका छन् भने ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका छन्।
पोखराका मेयर प्रमुख धनराज आचार्यले महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको बताए।यसले विद्यार्थीलाई एसईई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उनको विश्वास छ।
यसले अन्तरविद्यालय विद्यार्थीसँग घुलमिल, नयाँ साथीहरूसँग भेटघाट, नवीन वातावरणमा सामञ्जस्यलगायतमा विद्यार्थीलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए।
उनका अनुसार महानगरपालिकाले विद्यार्थीको सिकाइ प्रवद्र्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आएको छ।
पोखरा महानगरमा ८ हजार बढी विद्यार्थी सामुदायिक विद्यालयहरूमा थपिएका छन् भने यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयहरूमा बालविकासका कक्षाहरू अनिवार्य गरिएको छ। यसले महानगरपालिकाभित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ।