काठमाडाैँ - धनुषाको लक्ष्मिनियाँ गाउँपालिका-७, कुम्हरौडामा मोबाइलको लत कम गर्न र शिक्षाप्रतिको आकर्षण बढाउन बालबालिकालाई निःशुल्क ट्युसन दिन सुरु गरिएको छ। कुम्हरौडा भगवतीपुर समाजसेवाको पहलमा सुरु भएको यो कार्यक्रमले गाउँका दलित, सीमान्तकृत, तथा विपन्न समुदायका एक सय ८० जना बालबालिकाले पढेका छन्।
गाउँका शिक्षक रामशिरीठ साहले सुरुवात गरेको यो कार्यक्रम गाउँबाट वैदेशिक रोजगारीमा गएका एक सय २० जना युवाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ। ती युवाले मासिक एक हजार दुई रुपैयाँ सहयोग गर्दै आएका छन्।
लक्ष्मिनिया आधारभूत विद्यालयका शिक्षकसमेत रहेका साहले पहिलोपटक गाउँका दलित तथा विपन्न बालबालिकालाई लक्षित गर्दै निःशुल्क ट्युसन पढाउन सुरु गरेका थिए। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई आफ्नो योजना सुनाएपछि उनिहरूले आर्थिक सहयोग गर्न थालिएको हो।
शिक्षक साहका अनुसार बालबालिकालाई मोबाइल तथा अन्य अस्वस्थ आदतहरूबाट जोगाउन ट्युसन सञ्चालन गरिएको हो। उनले भने, 'मेरो चाहना भनेको कम्तिमा दुई घण्टा उनीहरू मोबाइलबाट टाढा रहुन् र पढाइमा समय दिन सकुन्। बालबालिका स्कुलबाट घर आएपछि धेरैजसो समय मोबाइलमा बिताउन थालेका थिए। कतिपय बालबालिका कुलतमा फस्ने सम्भावना पनि देखियो।'
हाल ट्युसन पढ्ने ८० प्रतिशत बालबालिका नियमित रूपमा विद्यालय जान गरेका छन्। बाँकी बालबालिका भने विपन्नता कारण अभिभावकसँगै काम गर्न र दिनभर खेल्न बाध्य हुने गरेको शिक्षक साहले बताए।
शिशु कक्षादेखि पाँच कक्षासम्मका पढाई हुने गरेको बताउँदै उनले विद्यार्थीका लागि आठ जना शिक्षक-शिक्षिकाले दैनिक पठनपाठन गराउने गरेको छन्। ती शिक्षकहरूलाई मासिक चारदेखि पाँच हजार रुपैयाँ दिने गरिएको उनले जानकारी दिए। कतिपय बालबालिकालाई कापी, कलम, लत्ताकपडा जस्ता सामग्री निःशुल्क उपलब्ध गराउँदै आएको शिक्षक साहले सुनाए।
यो कार्यक्रमले दलित, सीमान्तकृत, र अन्य समुदायका बालबालिकालाई एकसाथ शिक्षामा सहभागी गराउँदै समाजमा सकारात्मक परिवर्तन ल्याएको स्थानीय राजन झाले बताइ। गाउँका युवाहरूको सहयोग र शिक्षकहरूको प्रयासले ग्रामीण भेगमा शिक्षा प्रवद्र्धनको उदाहरणीय काम भएको उनको भनाइ छ।
बालबालिकामा पढाइप्रतिको रुचि बढेको र मोबाइल तथा अन्य अस्वस्थ गतिविधिबाट टाढा राख्न सफल भएको छ। यो कार्यक्रमले बालबालिकाको भविष्य निर्माणका साथै ग्रामीण समाजमा शिक्षा र सामाजिक सहकार्यको महत्व स्थापित गर्न मद्दत गरिरहेको स्थानीयको भनाइ छ।
कुम्हरौडा भगवतीपुर समाजसेवाको यो अभियानले बालबालिकालाई शिक्षित बनाउनुका साथै गाउँको सामाजिक विकासमा समेत योगदान पुर्याएको छ। ग्रामीण भेगका युवाहरूको सहयोग र स्थानीय शिक्षकको प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याएको स्थानीय मनोज कर्णले बताए।