काठमाडाैँ - गुल्मी शैक्षिक गुणस्तर बढाउन रेसुङ्गा नगरपालिका गुल्मीले सामुदायिक विद्यालयमा पुगेर अभिभावक शिक्षा कार्यक्रम सुरु गरिएको छ। रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले अभिभावक शिक्षा कार्यक्रममार्फत पहिलो चरणमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका अभिभावकहरुलाई प्रशिक्षण दिएको हो।
पछिल्लो समय विद्यार्थी देखिएको विकृति र विसंगति लगायतमा देखिएका समस्या समाधानका लागि अभिभावकलाई अभिमुखीकर गरिएको नगरपालिकाका लेखाजोखा केन्द्रका संयोजक राममणी पन्थीले जानकारी दिए।काठमाडौँ बिश्व विद्यालयका स्टिम कार्यक्रमका प्रशिक्षक नवीन मरासिनीले सबै विद्यालयका अभिभावकलाई अभिमुखिकरण दिएका हुन्।
नगरपालिकाले पहिलो चरणमा १२ सामुदायिक विद्यालयमा ९७५ जना अभिभावकलाई प्रशिक्षण दिएको छ। अभिभावक शिक्षा कार्यक्रममार्फत नगरपालिकाभित्रका विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नु प्रमुख उद्देश्य रहेको रेसुङ्गा नगरपालिका सामाजिक विकास संयोजक लिलाधर आचार्यले बताए।यो कार्यक्रम नगरपालिकाको पहिलो नयाँ कार्यक्रम रहेको बताउँदै आर्चायले अभिभावक शिक्षक हुँदै विद्यार्थी तहमा पुर्याउने योजना बनाएको उनले बताए।
अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरुमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी रहेको कार्यक्रममा सहभागी अभिभावकले बताएका छन्।
विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यवहारको सुरुवात, जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने रेसुङ्गा-१० का अभिभावक झबिन्द्र घिमिरे बताए। उनले कार्यक्रम मार्फत आफुले सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने बताए।
नगरपालिकाले संचालन गरेको अभिभावक शिक्षा कार्यक्रममार्फत केही ज्ञान लिन पाएकोमा अभिभावक उत्साहित भएका छन् । समाजमा बढ्दै गएको अराजक, खराब बानी व्यवहारको अन्त्य गरेर असल व्यक्ति निर्माणमा यस कार्यक्रमले थप हौसला दिएको रेसुङ्गा-१० कै अभिभावक सुमित्रा सुनारले बताइन्।
रेसुङ्गा नगरपालिकाले विभिन्न समयमा शैक्षिक गुणस्त वृद्धिका लागि थुप्रै कार्यक्रम गर्दै आएको छ। यस आर्थिक बर्षमा स्टिम विधिमा आधारित नगरपालिकाले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक शिक्षकबीच तीनदिने तालिम संचालन समेत गरिसकेको सूचना अधिकारी तथा शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख पितम्बर पन्थीले बताए । जसबाट जिम्मेवारीको बहन र विद्यार्थी र शिक्षकमा असल बानीको विकास हुने अपेक्षा लिईएको उनको भनाइ छ । विषयगत शिक्षकलाई पनि तालिम प्रदान गर्ने तयारी गरिएको पन्थीले बताए।
विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवार बनाउने यस कार्यक्रमले थप टेवा पुग्ने भगवती माध्यमिक विद्यालय सिमीचौरका प्रधानाध्यापक घनश्याम पाण्डेले बताए।उनले विद्यार्थीको पहिलो पाठशाला अभिभावक नै भएकाले नगरपालिकाले प्रत्येक शैक्षिक सत्रमा विद्यार्थी र अभिभावकलाई यस्ता कार्यक्रमको आयोजना गरेमा नगरपालिकको शैक्षिक गुणस्तर बढाउन टेवा पुग्ने बताए।
यस कार्यक्रममा अभिभावक र विद्यालयको उत्साह देखिएको छ । विद्यालयमा विद्यार्थी र शिक्षकको आवश्यकता अनुसार नगरपालिकाले योजना बनाएर कार्यक्रमको संचालन गर्ने नगरले योजना बनाएको छ।