काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टरलाईले शिक्षकहरूको ग्रेड मिलान र स्वास्थ्य उपचारमा निजामती कर्मचारी सरह बनाउने तयारी भईरहेको बताएकी छन्। आगामी आर्थिक वर्षको बजेट मार्फत सम्बोधन गर्ने गरी आफूले कुरा अगाडी बढाएको जानकारी दिँदै सो कुरा बताएकी हुन्।
मन्त्री भट्टराईले निजामती कर्मचारीहरूले स्वास्थ्य उपचारमा जति छुट पाउछन् शिक्षकहरूले पनि देशै भरका सरकारी अस्पतालमा त्यति नै छुट् पाउने व्यवस्था गर्न लागिएको बताइन।
बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग भएको छलफलमा निजामती कर्मचारीहरूलाई सरकारी अस्पतालमा स्वास्थ्य उपचारका लागि दिइएको ४० प्रतिशतम्मको छुट अनुसार शिक्षकहरूलाई पनि त्यति नै छुट दिने गरी समझदारी भएको बताएकी छन्। यसलाई कार्यान्वयन गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरिने उनको भनाई छ। भट्टराई शिक्षामन्त्री भएर आएपछि शिक्षकहरूलाई स्वास्थ्य उपचारमा छुट दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रायसहितको पत्र पठाएकी थिइन।
यसैगरी विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय अनिवार्य गर्दै पाठ्यक्रम परिमार्जनमा गर्न, देशमा बढिरहेको नसर्ने रोगलाई रोकथाम गर्न विद्यालय तहबाटै निरोधात्मक सचेतनामूलक सामग्री प्रभावकारी पार्न, विद्यालय शिक्षामा स्वास्थ्य विषय अध्ययन गरेकालाई उच्च शिक्षाका नर्सिङ, पब्लिक हेल्थ जस्ता विषयसँग जोड्ने गरि आवश्यक कार्य गर्न पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा संयुक्त विज्ञ समिति गठन गर्ने समझदारी भएको छ।
निजामती सरह ग्रेड मिलान गरिने
मन्त्री भट्टराईले शिक्षकहरूको पनि निजामती कर्मचारी सरह हुने गरी ग्रेड मिलान गर्ने तयारी भईरहेको बताइन। आगामी बजेट मार्फत सम्बोधन गर्न अर्थ मन्त्रालयलाई पत्र पठाई सकिएको जानकारी दिँदै निजामती कर्मचारी सरह शिक्षकको ग्रेड मिलान हुने उनको भनाई छ।
उनले भनिन् 'शिक्षकहरूको निजामती कर्मचारीहरूको सरह नै ग्रेड मिलान गर्नका लागि अर्थ मन्त्रालयलाई पत्र पठाइ सकिएको छ। आगामी बजेट मार्फत यसलाई सम्बोधन गर्ने गरी शिक्षा मन्त्रालयले काम गरिरहेको छ । अबको बजेटबाट यसको कार्यान्वयन हुन्छ।'
शिक्षकहरूले निजामती कर्मचारी र शिक्षकबिच सेवा सुविधामा सरकारले विभेद गरेको भन्दै एउटै सेवा सुविधा हुनुपर्ने माग गर्दै आइरहेका छन्।