काठमाडाैँ - महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका चिकित्सक अध्ययनको लागि छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई पालिकाले सम्मानसहित पुरस्कृत गरेको छ। सोनमा गाउँपालिकाको विभिन्न वडाका चार जना युवाहरु चिकित्सक अध्ययनको लागि एमबिबिएसमा छात्रवृत्तिमामा नाम निकालेपछि पालिकाले ती युवासहित उनका अभिभावकहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो।
पालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले सोनमा गाउँपालिका १ बस्ने अमनकुमार यादव, संजीवकुमार यादव, वडा नं. ७ बस्ने अजयकुमार साह र निरज यादवसहित उनका अभिभागकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सम्मान र पुरस्कारले सम्मान गरेका हुन्।
अध्यक्ष यादवले चारै जना युवाहरुले उच्च अध्ययनद्वारा गाउँको नाम चम्काएको भन्दै ४१/४१ हजार रुपैयाँले पुरस्कारसहित सम्मान गर्नुभएको हो। उनले सो अवसरमा चिकित्सक अध्ययनपश्चात पालिकाका वासिन्दाहरुलाई लाभ पुग्ने गरि काम गर्न समेत आग्रह गर्दे पालिकाका युवाहरुलाई प्रोत्साहनसहित सम्मान र पुरस्कार वितरण गरिएको बताए।
गाउँपालिकाबाट उच्च शिक्षा लिन प्रेरित गर्न, शिक्षाको लागि हौसला दिन तथा पालिकामा शिक्षाको प्रगतिको लागि दुई वर्षदेखि यस्तो कार्यक्रम आयोजना गर्दै आएको पालिका अध्यक्ष यादवले बताए। उनले यस्तो वातावरण बनाउने अभिभावकहरु समेत सम्मानको हकदार भएकोले सम्मान गरिएको जानकारी दिए।
उनले चिकित्सा अध्ययनको लागि मात्रै नभई अन्य शिक्षाको क्षेत्रमा समेत प्रगति गर्ने पालिकाका वासिन्दाहरुलाई सम्मान र पुरस्कृत गरिने बताउदै पालिका अध्यक्ष यादवले यसलाई अभियानको रुपमा बताए। उनले भने, ‘पालिकामा शिक्षाको विकासको लागि तथा पालिकाका वासिन्दाहरुलाई शिक्षामा आकर्षित गर्न यो अभियान सुरु गरिएको हो।’
सम्मान र पुरस्कार पाउनुभएका युवाहरुले पालिकाको यो कदम सराहनीय भएको बताउदै रकम अभावमा शिक्षाबाट वञ्चित रहेका युवायुवतीहरुलाई समेत सहयोगको लागि आग्रह गरेका थिए।