काठमाडौँ - बागलुङको जैमिनी नगरपालिकाले गत १ पुसमा ४ जनाभन्दा कम विद्यार्थी भएका विद्यालय आपसमा गाभेकाे छ। अझै ५ वटा विद्यालय एकै ठाउँमा गाभ्ने नगरपालिकाकाे योजना रहेकाे छ। ‘दुई तीनजना विद्यार्थी भएका विद्यालय मर्ज गरेका हौँ,’ नगरपालिकाका उपसचिव खेमप्रसाद आचार्यले भने, ‘भौगोलिक कठिनाइले केही विद्यार्थी ल्याउन नसकिएकाले पाँचवटा विद्यालयको मर्ज हुन सकेको छैन।’
विद्यार्थी थोरै भएका पाँचवटा विद्यालयलाई वैशाखसम्म मर्ज गर्ने उनले बताए। ‘विद्यार्थी नभएर शिक्षक घाम तापेर बस्नुपर्ने भयो। दुईजना विद्यार्थी राखेर के पढाइ हुन्छ ? त्यसैले मर्ज गरेका हौँ,’ उनले भने।आगामी शैक्षिकसत्रमा केही विद्यालयलाई आवासीय बनाएर मर्ज गर्ने सोच जैमिनी नगरपालिकाको छ। ‘आवसीय विद्यालय बनाउने निर्णय गरेका छौँ। वैशाखसम्म १० वटा विद्यालय मर्ज हुन्छन्,’ आचार्यले भने, ‘विद्यार्थी नभएका विद्यालयका शिक्षकको दरबन्दी मिलान गरेर काममा खटाएका छौँ।’
हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाका ९ वटा वडामा एक-एक विद्यालय छन्। प्रत्येक विद्यालयमा सयभन्दा कम विद्यार्थी छन्। गाउँपालिकाको शिक्षा अधिकृत मञ्जु सुवेदीका अनुसार माध्यामिक विद्यालयमा सबैभन्दा धेरै ७० जना विद्यार्थी छन्।
‘कुनै स्कुलमा ९ जना, १२ जना र १५ जना छन्,’ उनले भनिन्। तीनवटा प्राविमा १ कक्षामा मात्र विद्यार्थी छन्। दुई, तीन, चार र पाँच कक्षामा विद्यार्थी नै छैनन्। ‘विद्यार्थी नभएका विद्यालयका शिक्षकलाई काजमा अर्को विद्यालयमा पठाइएको छ,’ सुवेदीले भनिन्। भुगोलको हिसाबले विद्यालय मर्ज गर्न पनि सम्भव नभएको उनी बताउँछिन्। ‘मनाङमा जनसंख्या पनि थोरै छ। एउटा वडामा एउटा स्कुल छ, मर्ज गर्न सम्भव छैन,’ उनले भनिन्।
सिन्धुलीको कमलामाई नगरपालिकाका दुईवटा विद्यालयमा विद्यार्थी नै छैनन्। नगरपालिकाका शिक्षा अधिकृत हितकुमारी पौडलका अनुसार दुईवटा विद्यालयका बालविकासमा भने विद्यार्थी छन्। ‘एक, दई, तीन, चार र पाँच कक्षामा विद्यार्थी छैनन्,’ उनले भनिन्, ‘मर्ज गर्न मिल्ने ठाउँमा गरेका छौँ।
भूगोलका कारण कतिपयको मर्ज हुन सकेको छैन।’ कमलामाइ नगरपालिकामा १०३ वटा विद्यालय रहेकोमा मर्ज गरेर हाल ७२ वटा विद्यालयमा झारिएको छ। तर,अझै पनि १०० भन्दा कम विद्यार्थी भएका विद्यालय छन्। ‘विद्यार्थी नभएका विद्यालयका शिक्षकलाई अर्को ठाउँमा सरुवा गर्ने प्रक्रियाअगाडि बढाएका छौँ,’ उनले भनिन्।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुन नपाउने भनिएको छ। ‘थोरै विद्यार्थी भए पनि पढाउनुपर्ने हुन्छ। पढाइबाट बञ्चित गर्न नमिल्ने भएकाले मर्ज गर्न सकिएको छैन,’ उनले भनिन्।
यी केही प्रतिनिधिमूलक विद्यालय हुन्। शिक्षा मन्त्रालयका अनुसार देशभर १०० भन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या १५ हजार ९ सय ६५ वटा छ। १०० देखि ५०० सम्म विद्यार्थी भएका विद्यालयको संख्या ९ हजार ७०७ छ।५०१ देखि एक हजारसम्म विद्यार्थी रहेका विद्यालयको संख्या एक हजार ६३६ वटा छ। एक हजार एकदेखि एक हजार पाँच सयसम्म विद्यार्थी भएका विद्यालयको संख्या चार सय ४९ वटा छ। एक हजार पाँच सय एकदेखि दुई हजारसम्म विद्यार्थी भएका विद्यालयको संख्या एक सय ३६ वटा छ।