काठमाडाैँ - राष्ट्रिय परीक्षा बोर्डले दिएकाे मौका परीक्षाको अवसरमा १४ लाख विद्यार्थी मध्य सहभागी हुनका लागि २२ हजारले मात्रै आवेदन दिएका छन्। बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका २१ वर्ष पुराना परीक्षार्थीलाई यस्तो परीक्षामा सहभागी हुने मौका दिएको थियो।
बोर्डको तथ्याङ्क अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन्। तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन्। बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ।
विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन्। पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो। परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो।
बोर्डका सहनियन्त्रक घिमिरेका अनुसार परीक्षा फाराम भर्नेमा २०६० सालपछिको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरू धेरै छन्। 'त्यसभन्दाअघिका परीक्षार्थीमध्ये धेरै जसोले त उमेरका कारणले पनि फाराम भर्नुभएन होला। कतिपय परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएपछि वैकल्पिक बाटोतिर पनि लागिसक्नुभएको होला,' घिमिरेले भने।
तर शिक्षाविद् प्राडा बालचन्द्र लुइटेलले भने पढेर उपलब्धि हुनेमा सशङ्कित हुनेको जमात धेरै भएका कारण मौका परीक्षामा सहभागी हुन अरुचि देखिएको विश्लेषण गरे। साथै २१ वर्षअघि परीक्षामा अनुत्तीर्ण भएकाहरू अहिले आआफ्नो पेसा व्यवसायमा लागिसकेका हुनाले पनि परीक्षा फाराम भर्ने थोरै भएको अनुमान लुइटेलको छ।
मौका परीक्षामा सहभागी हुन फाराम भर्नेको सङ्ख्या यकिन भएपछि उनीहरूलाई कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड (तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्) ले २०५२ सालदेखि कक्षा ११ को पढाइ सुरु गरेको थियो। सुरुवाती तीन वर्षसम्म त्रिभुवन विश्वविद्यालयको तत्कालीन प्रवीणता प्रमाणपत्र तह प्रथम वर्ष र द्वितीय वर्षको पाठ्यक्रममा आधारित भएर कक्षा ११ र १२ को पढाइ सञ्चालन गरिएको थियो।