काठमाडाैँ - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा मेडिकल कलेजमा आगामी असारदेखि एमबीबीएसको पढाइ सुरु गर्न सकिने बताएका छन्।
पुस २३ गते मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भौतिक संरचनाको स्थलगत निरीक्षण गर्ने क्रममा उनले चालु आर्थिक वर्षभित्रै ३०० शैय्याको अस्पताल सञ्चालन गरी आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिने बताएका हुन्।
चिकित्सा शिक्षाको अध्यापनका लागि ३०० शैय्याको अस्पताल सञ्चालन भएको कम्तीमा तीन वर्ष पुगेको हुनुपर्छ। तर, मन्त्री पौडेलले भने विशेष निर्णय गराएर भएपनि गेटामा एमबीबीएस पढाइ सुरु गर्न सकिने आश्वासन दिए।
‘सुदूरपश्चिम बाहेकका ६ प्रदेशमा एमबीबीएसको पढाइ सुरु भइसकेको छ। यहाँ चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै ३०० शैय्याको अस्पताल बन्ने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्नसक्छ,’ उनले भने, ‘मेरो प्रयास त्यसतर्फ रहेको छ।’ सरकारले विशेष निर्णय गरेर एमबीबीएसको पढाइ सुरू गरे सुदूरपश्चिमलाई न्याय हुने र सरकारले समेत सबै प्रदेशमा एमबीबीएसको पढाइ सञ्चालन गरिसकेको भन्न सक्ने अवस्था आउने उनले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफू मन्त्री हुने बितिकै बोलाएर गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको समेत पौडेलले स्मरण गरेका छन्।
उनले मेडिकल विश्वविद्यालय बन्दैनन् भन्ने मानसिकता त्याग्न आग्रह पनि गरे। ३०० र ६०० शैय्याको अस्पताल चलेको ठाउँ, एमबीबीएस र एमडीको पढाइ भइरहेको ठाउँलाई विश्वविद्यालय बनाउन झन् सजिलो हुने भएकाले क्रमिक रुपमा हुने विकासमा शंका नगर्न मन्त्री पौडेलले आग्रह गरे।
गेटामा सरकारले करिब सात अर्ब खर्च गरेर मेडिकल कलेज सञ्चालन गर्न भौतिक संरचना निर्माण गरेको छ। ती संरचनामा सरकारले १०० शैय्याको अस्पताल घोषणा गरेको छ तर अहिले ५० शैय्यामात्रै ञ्चालनमा छन्।