काठमाडाैँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले आवश्यक नियमन गर्ने बताएका छन्।
शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) को दोस्रो वार्षिक साधारण सभाको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सचिव काफ्लेले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले नविकरणको प्रक्रिया सुरु गरिसकेको र थप आवश्यक नीतिगत व्यवस्था गर्दै अघि बढ्ने बताए।
एप्क्यान दोस्रो साधारणसभा सफलताको शुभकामना दिदैँ उनले परामर्श व्यवसायीको भूमिका विद्यार्थी विदेश पठाउने प्रक्रियामा सहजिकरण गर्ने मात्रै नभइ नेपालमा पनि ल्याउन हुने भएकाले यस क्षेत्रसँग समन्वय गर्दै राज्य अघि बढ्नेमा जोड दिए। 'कुनै परामर्श व्यवसायीले गलत काम गरेको खण्डमा राज्यका अन्य निकायले पनि यस उपर कारवाही गरेको अवस्था छ। त्यसैले शैद्धान्तिक रुपमा समाजमा परिवर्तन ल्याउने उद्देश्यले विद्यार्थीको भविष्य निर्माणमा संसारकै अब्बल व्यक्ती निर्माण गर्ने तर्फ व्यवसायीको ध्यान केन्द्रित हुनुपर्छ' ,उनले भने।

यस्तै कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले आफूले विद्यार्थीलाई पहिले देश अनि विदेश भन्ने गरेको र परामर्श व्यवसायीले नेपालमा अनुकुल वातावरण बनेको खण्डमा अन्य मुलुकबाट विद्यार्थी नेपालमा ल्याउन पनि भूमिका खेल्ने बताए।
उनले भने, 'नेपालको विश्वविद्यालय शिक्षामा समस्या उत्पन्न हुँदा विद्यार्थी पढ्नकै लागि पनि विदेश गएको अवस्था छ। विद्यार्थी विदेश पढ्न गए भनेर चिन्ता गर्नु भन्दा पनि यहाँको शैक्षिक गुणस्तर सुधार गर्नु आजको चुनौती हो। शिक्षा मन्त्रालयले व्यवसायीलाई नवीकरण गर्न लगाएको छ। निर्देशिका बनेको छ तर, यो प्रभावकारी छैन। यस क्षेत्रलाई व्यवस्थित गर्ने गरी नियमावली आवश्यक छ। नेपालमा विदेशबाट विद्यार्थी अध्ययन पश्चात् फर्किने वातावरण बनाउनु पर्छ। जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई एनओसी लिनै समस्या छ। एनओसीको तथ्यांकले बजारमा अनावश्यक हौवा फैलाउने काम गरेको छ।' यस्तै कार्यक्रममा इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डेले एप्क्यान दोस्रो वार्षिक साधारणसभा सफलताको शुभकामना दिदैँ शैक्षिक परामर्श व्यवसायी विदेश पठाउन मात्रै नभइ नेपालमा विद्यार्थी ल्याउन पनि भूमिका खेल्ने गरेको बताए।

एप्क्यान दोस्रो साधारणसभाको शुभकामना दिदैँ इक्यान अध्यक्ष शेषराज भट्टराईले शिक्षा क्षेत्रको सन्दर्भमा सरकारको प्राथमिकतामा शैक्षिक परामर्श क्षेत्र नपरेको गुनासो गरे। उनले पछिल्लो समय सरोकारवाला निकायले शैक्षिक परामर्श क्षेत्रलाई नियमन र आवश्यक कानुन तर्जुमा गर्न आवश्यक रहेको विषयमा सचिव काफ्लेको ध्यानाकर्षण गराए।

कार्यक्रमको सभापतित्व एप्क्यान अध्यक्ष प्रज्जवल बस्नेतले गरेका थिए। कार्यक्रमको सञ्चालन सदस्य नरेश सेडाइले गरेका थिए भने स्वागत मन्तव्य महासचिव अनिल शर्मा पौडेलले राखेका थिए। एप्क्यानका सदस्य सुधिर राज खड्काले युकेबाट फर्किएर अहिले शैक्षिक परामर्श व्ययवसायसँँगैै एन्जल हेल्थ केयर होमको सुरुवात गरेको अनुभव सुनाएका थिए।

कार्यक्रममा नायक रमेश उप्रेती, केइक्यानका अध्यक्ष गणेश शर्मा, जालसानका अध्यक्ष रमेश देवकोटा, आईरिन अध्यक्ष हेमन्त भट्टराई, नायर अध्यक्ष उद्दव खड्का, आईडिपी आईईएलटिएसका प्रतिनिधी लगायत विभिन्न विदेशी विश्वविद्यालय र संघ, संस्थाका प्रतिनिधिले शुभकामना प्रदान गरेका थिए।