काठमाडाैँ - विद्यालय तहका विद्यार्थीलाई खुला प्रश्न पनि सोध्ने तयारी गरिएको छ। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार खुला प्रश्न राख्ने विषयमा छलफल भइरहेको छ। यसका लागि पाठ्यक्रम र मूल्याङ्कन मापदण्ड बनाउने तयारी केन्द्रले गरेको छ।
‘तीन घण्टाको परीक्षा मात्र पूर्ण होइन। विद्यार्थीलाई खुला प्रश्न सोध्ने विषयमा गृहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन अतिरिक्त क्षमताको विकास गर्न खोजिएको हो। खुला प्रश्नमा एउटै उत्तर दिनुपर्छ भन्ने छैन। विद्यार्थीले आफूलाई लागेको तर्क राख्न सक्छन्।’श्रेष्ठले विद्यार्थीमा आलोचनात्मक चेतको विकास गर्न खोजिएको बताए।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विद्यार्थीलाई खुला प्रश्न सोध्न विषय उठाउँदै आएका छन्। विशेषतः कोरोना महामारीका बेला उनले यो विषय उठाएका थिए। ‘त्यसबेला धेरैले सम्भव छ र भनेर प्रश्न गरेका थिए। अहिले आएर लागू गर्ने तयारी भएछ, राम्रो कुरा हो,’ कोइरालाले भने। धादिङका केही विद्यालयमा खुला प्रश्न सोधिने गरेको र प्रभावकारी भएकोसमेत कोइरालालले बताए।
तर प्रश्न कस्तो बनाउने भन्नेमा चुनौति देख्छन् उनी। ‘एउटा बच्चाले घरमा भैंसी दोयो भने त्यसबाट के कुरा बुझ्यो त ? विज्ञानको के कुरा सिक्यो, गणितको के थाहा पायो, अर्थशास्त्रको के बुझ्यो त्यो खोज्ने गरी प्रश्न सोधिनुपर्छ,’ उनले भने। अभिभावकलाई पनि बुझाउनु पर्ने उनको तर्क छ। ‘विद्यार्थीले घोक्ने खालको होइन, सोध्ने, खोज्ने खालको प्रश्न बनाउनुपर्छ,’ उनले भने।