काठमाडाैँ - पूर्वकानुनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य शेरबहादुर तामाङले विद्यालयको पठनपाठन बिहान ७ देखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेका छन्।
पुष १८ गते बिहीबार सञ्चारकर्मीसँगको छलफलमा तामाङले आफूले मुलुकको समग्र विद्यालय शिक्षाको अवस्थालाई विश्लेषण गरेर यस्तो प्रस्ताव गरेको बताए। गर्मीको समयमा बिहान ७ देखि दिउँसो १ बजेसम्म तथा जाडोमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्यालय सञ्चालन गर्न उपयुक्त हुने तामाङको प्रस्ताव छ।
बिहानको समयमा विद्यालय सञ्चालन गर्दा विद्यार्थीलाई स्कुलमै खाना खाने व्यवस्था गर्ने तथा त्यसका लागि हाल उपलब्ध गराउँदै आएको दिवा खाजाको रकममा वृद्धि गर्नुपर्ने, यसरी सामूहिक रूपमा खाना खुवाउने व्यवस्थाले जातीय छुवाछूत अन्त्य हुने, कक्षा अनुसार ५ देखि १० विद्यार्थीलाई एक एक दिन सामूहिक रूपमा खाना बनाउने काममा लगाउने र यसो गर्दा सामूहिक रूपमा काम सिक्ने वातावरण विकास हुने तामाङको दाबी छ।
पूर्वमन्त्री तामाङ्गको विद्यालय शिक्षा सुधार योजनाको पूर्णपाठ
विद्यालय शिक्षाको समय परिवर्तन गरेर जाडो याममा बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म र गर्मी याममा बिहान ७ बजेदेखी दिउँसो बजेसम्म गरौँ।
म यहाँ यसरी समय परिवर्तन गर्दा हुने फाईदाहरु प्रस्तुत गर्न चाहन्छु।
१. हरेक अभिभावक र बालबच्चाहरु बिहान ढिलोमा ५ बजे नै उठिसक्नेछन्। बालबच्चालाई तयारी गरी खाजा खुवाएर ६ बजे नै विद्यालय पठाएपछि अभिभावकहरु बिहानको पुजापाठ, व्यायाम आदि कार्यक्रम गर्न र घरमा गर्नुपर्ने कृषि वा अन्य अफिसियल काम गर्न पनि पर्याप्त समय मिल्नेछ। बिहान चाँडो उठ्नु भनेको त्यसैपनी स्वास्थको लागि राम्रो त हुने नै भयो।
२. बालबच्चालाई दिवा खाना विद्यालयमा नै सामुहिक मेसमा गर्ने। अहिले दिवा खाजाको व्यबस्था सरकारले गरेको छ। त्यसमा अलि थप गरेर व्यवस्थापन गर्न सकिन्छ। त्यसमा अभिभावकबाट पनि उठाउन सकिन्छ । निम्न र गरिव परिवार छनौट गरि त्यस्ता परिवारलाई सरकारले व्यवस्थापन गर्नेगरी व्यवस्थापन गर्ने। यसरी सामुहिक रुपमा खाना खुवाउने ब्यबस्थाले जातीय छुवाछुत अन्त्य हुनेछ । कक्षा अनुसार ५ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई एक÷एक दिन सामुहिक रुपमा खाना बनाउने काममा लगाउने (एक महिनामा एक कक्षालाई ४ दिन मात्र पर्नेछ) । यसले सामुहिक रुपमा काम सिक्नेछ। काम प्रतिको दायित्वबोध बढ्नेछ। यसलाई बालश्रम नभन्नुहोला। किनकी विद्यालयहरुमा स्काउट ट्रेनिङको नाममा अहिलेपनि यस्तै व्यावहारिक ज्ञान सिकाउने गरिन्छ । विद्यालयबाटै श्रमप्रतिको सम्मान र लगाव बढ्ने भएपछि एक जिम्मेवार पुस्ताको निर्माण हुनेछ । छुवाछुत मुक्त समाज निर्माणसमेत हुनेछ।
३. शिक्षकहरु अनिवार्य विद्यालयमा उपस्थित हुनेछन्। ग्रामीण क्षेत्रका शिक्षकहरु आफ्नो घरायसी कृषि पेशामा संलग्न हुँदा विद्यालयमा कम उपस्थित हुन्छन् भन्ने जनगुनासो रहेको छ। दिउँसो एक बजेपछी आफ्नो घरको काम गर्न पर्याप्त समय हुने हुँदा सबै शिक्षक विद्यालयमा आफ्नो काममा लाग्ने दर बढ्नेछ। साथै सहरी क्षेत्रका शिक्षकहरुलाई पनि एक बजेपछि आंशिक समय (एबचत त्ष्mभ) वैकल्पिक पेशा गर्ने अवसर पाउनेछन्। सरकारले आयोजना गर्ने शिक्षक तालिमहरु पालिकाभित्र र सहरी क्षेत्रमा दिउँसो दुई बजेपछि मात्र आयोजना गर्दा विद्यालयबाट शिक्षकले बिदा लिनुपर्दैन।
४. विद्यालयलाई व्यावसायिक कृषि सिकाउने थलोको रुपमा विकास गर्ने र व्यावसायिक तालिमको केन्द्र बनाउने। दुई बजेपछी खाली हुने विद्यालय भवनलाई व्यावसायिक तालिमको केन्द्र बनाउने। ८–१२ सम्मका विद्यार्थी र गाउँका अन्य व्यक्तिहरुलाई व्यावसायिक तालिम दिने संस्थाको रुपमा विद्यालय भवनलाई प्रयोग गर्ने। यसो गर्दा समाजका हरेक नागरिक तालिम प्राप्त दक्ष जनशक्तिको रुपमा विकास हुनेछ।
५. नैतिक शिक्षा विद्यालयमा अनिवार्य राख्ने। जसले देशप्रती जिम्मेवार नैतिकवान नागरिकको जन्म हुनेछ। अराजक, उत्श्रृंखल र गैर जिम्मेवार नागरिकको साटो स्वाभिमानी, जिम्मेवार र नैतिकवान नागरिक आजको आवश्यकता हो।
६. तीन वर्ष यो लागू गरेर हेरौं, पक्कै शिक्षाको गुणस्तर र शिक्षित नागरिकको नैतिकता जाँचेर हेरौं। म दावी गर्दछु कि पक्कै सुधार हुनेछ।
शेर बहादुर तामाङ्ग
पुर्व मन्त्री तथा स्थायी कमिटी सदस्य
नेकपा (एमाले)