काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण श्रेष्ठले एजुकेशन कन्सल्टेन्सीले आफ्नो क्षेत्राधिकारबाहिर गएर काम गरेको बताएका छन्।
वैदेशिक रोजगार विभागका सचिव एकनारायण अर्यालसहित बिहीबार (आज) बुद्धनगरस्थित कन्सल्टेन्सीको अनुगमन गर्ने क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले पछिल्लो समय एजुकेशन कन्सल्टेन्सीका नाममा ठगी बढेको बताउँदै यसको नियन्त्रणका लागि शिक्षा मन्त्रालयलगायत निकायसँग समन्वयन गरी शैक्षिक परामर्श संस्थाको नियमनमा कडाइ गरिने उल्लेख गरे।
पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृती लिएर दर्ता गरिएका एजुकेशन कन्सल्टेन्सीले मेनपावर कम्पनीले जस्तै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम असुल्ने गरेको पाइएपछि यसलाई रोक्न मन्त्री श्रेष्ठले दोषीलाई कारबाहीको दायरामा ल्याइने बताए।
कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रूपैया असुल्दैसञ्चालक फरार हुने गरेको उजुरी विभागमा परेको सचिव अर्यालले मन्त्रीसमक्ष जानकारी गराए।
विभागले हालै इन्टरनेसनल एक्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १ सय ४४ जनाबाट साढे ४ करोड रूपैयाँ असुलेपछि वैदेशिक रोजगार न्ययाधिकरणमा मुद्दा दायर गरिएको महानिर्देशक शेषनारायण पौडेलले बताए।
पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेको र तीमध्ये तीनवटा संस्थाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरिएको बताए।
एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगतसहित पछिल्लो एक महिनामा ४ करोड ९३ लाखको दाबी र हर्जनासहित ७ करोड रूपैयाँ बराबर माग दाबीसहित मुद्दा दायर गरिएको महानिर्देशक पौडेलले जानकारी दिए।