काठमाडाैँ - त्रिचुन्द्र बहुमुखी क्याम्पसमा आंशिक शिक्षकले क्याम्पस प्रमुख, लेखा र प्रशासनको कोठामा ताला लगाएका छन्।
१८ महिनादेखि तलब नपाएको भन्दै ताला लगाएको त्रिवि आंशिक प्राध्यापक संघ, त्रिचन्द्र क्याम्पस इकाइका अध्यक्ष सतीशचन्द्र झाले बताए।‘पारिश्रमिक पाएका छैनाैँ। सहमतिअनुसार तलब नपाएपछि ताला लगाएका हौँ,’ उनले भने।
१ पुसमा ताला लगाएका आंशिक शिक्षकले कक्षा पनि बहिस्कार गरेका छन्। ‘ताला लगाएपछि पढाएका छैनौँ। विद्यार्थीलाई अफ्ठ्यारो परेको छ। तर, तलब नपाइ कसरी हामीले काम गर्न सक्छौँ ?,’ उनले प्रश्न गरे।
गत भदौमा २०८० सम्मको सबै तलब दसैँअगाडि र २०८१ वैशाखदेखिको तलब मंसिरसम्म भुक्तानी गर्ने सम्झौता भए पनि कार्यान्वयन नभएको गुनासो आंशिक प्राध्यपाकहरूको छ।दसैँअगाडि केही विभागको भुक्तानी भएको थियो। अरुको अहिलेसम्म पनि भुक्तानी नभएपछि बाध्य भएर ताला लगाउनु परेको झाले बताए। ‘३० मंसिरभित्र तलब भुक्तानी गर्न समय दिएपनि सुनुवाइ भएन,’ उनले भने।
शैक्षिकसत्र २००१/०८२ को नविकरण गर्नुपर्ने, करारको प्रक्रिया पूरा गर्नुपने, पारिश्रमिकबाट कट्टा गरिएको १५ प्रतिशत कर प्राध्यापकहरुको व्यक्तिगत प्यानमा सुनिश्चित गर्नुपर्ने लगायतका माग आंशिक शिक्षकहरूको छ।
आंशिक शिक्षकले ताला लगाउँदा दैनिक कामकाज प्रभावित भएको छ भने विद्यार्थीको पठनपाठनसमेत रोकिएको छ। आंशिक शिक्षकको कक्षाबाहेक अरु कक्षा भने चलिरहेको छ।