काठमाडाैँ - दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन र दूरसञ्चार सेवाको पहुँच वृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ। पठनपाठनलाई सहज बनाउन र विद्यार्थीहरूले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भनेर टेलिकमले देशभरका १ सयवटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक वर्षसम्म निःशुल्क उपलब्ध गराएको जानकारी दिएको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत टेलिकमले एफटीटीएच सेवा उपलब्ध नभएका स्थानका विद्यालयहरूमा नमस्ते वाइफाइ राउटरसहितको फोरजी इन्टरनेट प्याकेज उपलब्ध गराएको जनाएको छ। यसबाट ७ वटै प्रदेशका ५० विद्यालयहरूले एक वर्षसम्म निःशुल्क इन्टरनेट सुविधा प्राप्त गरेको कम्पनीको दाबी छ। टेलिकमले आउँदै गरेको एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूलाई अनलाइन माध्यमबाट नि:शुल्क रूपमा पढ्न पाउने व्यवस्था मिलाएको पनि जानकारी दिएको छ।
नेपाल टेलिकमले फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष प्रावधानसहितका निःशुल्क प्रिपेड सिमकार्ड वितरण गरेको जनाएको छ। विपत् व्यवस्थापनमा टेलिकमले विभिन्न पहल गरिरहेको उल्लेख गरेको छ। ‘नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरूको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा नि:शुल्क कलर रिङटोनको प्रसारण कार्य गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको थियो।’
यसबाहेक कम्पनीले काठमाडौँको माइतीघरदेखि तीनकुनेसम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा फर्निचर, कम्प्युटर, झोला, ट्र्याकसुटलगायत विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराउनुका साथै २० जिल्लाका एक/एक सरकारी र सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराएको उल्लेख गरेको छ।
वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोग गर्नुका साथै वीर अस्पतालमा बेड र चेयर उपलब्ध गराएको नेपाल टेलिकमले जनाएको छ। धार्मिक मठ मन्दिर, पुरातात्विक एवं पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैँचा लगायतका सार्वजनिक स्थलमा डस्टविन वितरण गरिएको पनि टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।