काठमाडौँ- माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने पक्षमा बहुमत आएको छ।
उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो। उमेर हद नलगाउने भन्दा लगाउने पक्षमा २१ मत बढी आएको छ।
अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब १ हजार ७८९ मत खसेको थियो। तीमध्ये १ हजार ७७९ मत सदर भएको थियो। ३२ वर्षे उमेर हद लगाउने पक्षमा ९०० र नलगाउने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी दिए।
गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो। राष्ट्रिय सम्मेलनमा३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय उठेको थियो।
त्यसमा सहमति नजुटेपछि मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिए पनि विवादका कारण रोकिएको थियो। त्यसैले ३२ वर्षे उमेर हद लगाउने कि खुल्ला प्रतिस्पर्धाको आधारमा नेतृत्व चुन्ने भनेर शनिबार निर्वाचन गरिएको थियो।
उमेर हद लगाउने पक्षमा बहुमत आएकाले अब ३२ वर्ष ननाघेकाहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी केन्द्रीय नेतृत्व चयन गरिनेछ।
अखिल क्रान्तिकारीको पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि यही पुस १७ गते दोस्रो चरणको निर्वाचन हुनेछ।
निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते केन्द्रीय पदाधिकारी र सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुनेछ। पुस १६ गते उम्मेदवारी उपर दावी विरोध, पुस १६गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता र १६गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।
पुस १७ गते बिहान ११बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। भौगोलिक र गैरभौगोलिक गरी ९ प्रदेशस्तरमा मतदान हुने छ।