काठमाडौँ - कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजको सहकार्यमा 'साइबर सुरक्षा सम्मेलन २०२५' आयोजना हुने भएकाे छ। उक्त सम्मेलन चाँगुनारायण भक्तपुरमा रहेकाे नेपाल इन्जिनियरिङ कलेजमा पुष २३ गतेबाट सुरु हुन लागेकाे हाे। कार्यक्रम नेपाल इन्जिनियरिङ कलेज प्राङ्गणमा हुने भएकाे छ।
यस कार्यक्रमले केन्द्रिय सरकार देखि स्थानीय सरकारसम्म एकै ठाउँमा ल्याउने ,साइबर सुरक्षाका क्षेत्रहरूबारे ज्ञान आदानप्रदान गर्ने, नवीनतम प्रविधि र चुनौतीहरूबारे छलफल गर्ने र विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूसँग संवाद गरी गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने उदेश समाजका अध्यक्ष कोमल अधिकारीले जानकारी दिएका छन्।
अधिकारीले यस कार्यक्रमलाई सफल बनाउन, डिजाइन/सम्पादन टोली, सामाजिक सञ्जाल व्यवस्थापक, कार्यक्रम स्वयंसेवक/सम्भालक, होस्ट, र प्यानल छलफलको संयोजक जस्ता विभिन्न भूमिकाका लागि विद्यार्थीहरू सक्रिय रूपमा संलग्न हुने बताए। अधिकारीले भन्छन्,' कार्यक्रमले साइबर सुरक्षाको महत्त्वमाथि प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित इन्टरनेट अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।', ' यसले विद्यार्थीहरूलाई व्यावसायिक व्यक्तिहरूसँग नेटवर्क बनाउन, नयाँ ज्ञान हासिल गर्न, र व्यावहारिक अनुभव जुटाउन सहयोग पुर्याउनेछ।'
कार्यक्रममा विद्यार्थीहरुले प्रख्यात साइबर सुरक्षा विशेषज्ञहरूद्वारा प्यानल छलफल(साइबर अपराध, डाटा संरक्षण, र डिजिटल सुरक्षामा नयाँ समाधानहरू) र डिजिटल सुरक्षामा उपाय, ह्याकिङको रोकथामका उपायहरु बारे जानकारी प्राप्त हुने कार्यक्रमका प्रमुख आकर्षण रहेकाे आयाेजककाे भनाइ छ।
कार्यक्रममा विद्यार्थी, प्राध्यापक, आईटी व्यवसायिकहरू, साइबर ब्युरोका प्रतिनिधिहरू, तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसहित साइबर सुरक्षामा चासो राख्ने सबैलाई सहभागी हुन आमन्त्रित गरिएको छ।