काठमाडाैँ - धनगढीमा पुष ९ गते मंगलबार आजदेखि ‘नवौँ वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु भएकाे छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा हुने शैक्षिक महोत्सवको सबै तयारी पूरा गरिसकेकाे छ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एकसय बढी स्टल रहेको संघका अध्यक्ष भीम पडालले जानकारी दिए।
उनले महोत्सवमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना हुने बताए । उनले भने, ‘त्यसमा आधारभूत र माध्यमिक तह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ।’
महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने बताउँदै उनले सुदूरपश्चिमका परिकारसहितका खाना र खाजाका स्टल राखिने बताए। पडालले शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयहरुमा बहस पनि सञ्चालन तथा त्यसमा मदन पुरस्कार विजेता साहित्यकारहरुका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको पनि सहभागिता रहने बताए।
महोत्सव पुस १५ गतेसम्म धनगढी उपमहानगरपालिका - १ पशुपति टोलमा सञ्चालन हुने आयोजनकले जनाएको छ। महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड बढीको कारोवार हुने विश्वास आयोजकको छ।
महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरु सामुहिक रुपमा पोशाकमा आएमा निःशुल्क प्रवेश, अन्य विद्यार्थी स्वस्फुर्त रुपमा आएमा ५० रुपैयाँ टिकट दर राखिएको आयोजकले जनाएको छ। त्यस्तै, सर्वसाधारणलाई १०० रुपैयाँ प्रवेश शुल्क राखिएको छ। ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई महोत्सवमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ।