काठमाडाैँ - प्लान इन्टरनेशनलको सहयोगमा सामुदायिक परिवार कल्याण संघले पुष ७ गते आइतबार किशोरीहरु शिक्षित र आत्मविश्वास बढाउनका लागि मन्त्रीकाे कार्यकक्षमा गरेकाे 'गर्ल टेकओभर' कार्यक्रम सम्पन्न भएकाे छ।
यस कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिबारीले छोरी चेलीहरु शिक्षित भएमा मधेश प्रदेशमा देखिएका बालविवाह, दहेज प्रथाजस्ता कुरीतिहरु आफै समाप्त भएर जाने बताएकी छिन्। तिबारीले किशोरीहरु शिक्षित भएमात्र समाज परिवर्तन हुने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताइन्।
मन्त्री शर्माले छोरीहरुलाई माथि उकास्नका लागि मधेश प्रदेश सरकारले शुरुवातदेखि 'बेटी पढाउ बेटी बचाउ' अभियान सञ्चालन गरी विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दैआएको बताइन्।
उनले मधेश प्रदेशमा शिक्षकको अभाव रहे पनि पदपुर्ति गर्ने अधिकार संघ सरकारमा रहेको कारण पदपुर्ति हुन नसकेको बताइन्। उनले तत्कालका लागि शिक्षकको संख्या बढाउनका लागि मधेश प्रदेश सरकारले सीमित श्रोतसाधनमा स्वयमसेवक शिक्षक कार्यक्रम अघि बढाएको भन्दै कार्यक्रममा सहयोगका लागि दातृनिकायलाई आग्रह गरिन्।
उनले संविधानले नै प्रदेश र स्थानीय तहलाई अलग अलग राखेको भए पनि प्रदेशले स्थानीयतहका लागि विभिन्न कानूनहरु निर्माण गरी स्थानीय तहसँग सम्बन्ध बनाउन प्रयत्न गरिरहेको बताइन्।उनले विद्यालयमा सञ्चालनमा आएको ल्यावको उपकरण दिने अधिकार प्रदेश सरकारलाई भए पनि सञ्चालन गर्ने अधिकार नरहेको कारण धेरैजसो ल्यावहरु लथालिङ्ग अवस्थामा रहेकाले यसलाई व्यवस्थित गर्न स्थानीय सरकारलाई आग्रह गरिन्।
कार्यक्रममा प्लान इन्टरनेशनल पूर्व क्षेत्रीय कार्यालय जनकपुरधामका प्रमुख रवि शंकर पण्डित,सामुदायिक परिवार कल्याण संघका कार्यकारी निर्देशक लक्ष्मेश्वर मण्डल, कार्यक्रम संयोजक यमलाल शंकर, सहितकाको उपस्थिती रहेको थियो।