काठमाडौँ - काठमाडौँ विश्वविद्यालय (केयू) ले परीक्षामा फेल भएका र बीचैमा कक्षा छाडेका विद्यार्थीलाई पनि दीक्षित गरेको खुलेको छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अध्यक्षता गरेको दीक्षान्त समारोहबाट त्यस्ता सात विद्यार्थीलाई गत मंसिर २९ मा शैक्षिक उपाधि दिएको हो।
प्राप्त कागजातअनुसार शैक्षिक तह नै पूरा नगरी उपाधि प्राप्त गर्ने विद्यार्थी व्यवस्थापन संकायअन्तर्गत बीबीएका हुन्। उनीहरू केयूबाट सम्बन्धन प्राप्त निजी क्याम्पस लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट ललितपुरमा भर्ना भएका थिए।
‘भर्ना भए पनि उनीहरूमध्ये कोही बीचैमा कक्षा छाडेका र कोही तोकेको क्रेडिट पूरा नगरी फेल भएका थिए,’ विश्वविद्यालयका एक प्राध्यापकले भने, ‘प्रधानमन्त्री बोलाएर पढ्दै नपढेका र फेल भएका विद्यार्थीलाई पास भयौ भनेर शैक्षिक उपाधि प्रदान गरिँदा विश्वविद्यालयको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ।’
परीक्षामा सहभागी नभएका विद्यार्थीलाई दीक्षित गरेको तर पास भएका विद्यार्थी छुटेको भन्दै कलेजले समेत आपत्ति जनाएको छ। कलेजका प्रिन्सिपल मित्रबन्धु पौडेलले केयूलाई पत्र लेख्दै बीचैमा कक्षा छाडेका तथा फेल भएका विद्यार्थीलाई शैक्षिक उपाधि प्रदान गरेको भन्दै असन्तुष्टि जनाएको केयूका अर्का प्राध्यापकले जानकारी दिए। उनका अनुसार मापदण्ड पुगेका दुई विद्यार्थीलाई भने शैक्षिक उपाधि प्रदान गर्न छुटाएको पाइएको छ।
फेल भएका विद्यार्थीलाई ग्रेस लिस्टमा समावेश गरेर दीक्षित गर्नु सामान्य गल्ती नभएको भन्दै कार्यकारी परिषद् सभाका सदस्य तथा स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेलले विश्वविद्यालयका अधिकांश प्राध्यापक र कर्मचारीलाई इमेलमार्फत पत्र लेखेर ध्यानाकर्षण गरेका छन्।
क्याम्पस छाडेको विद्यार्थीले शैक्षिक उपाधि प्राप्त गर्नुलाई मानवीय त्रुटि मान्न नसकिने भन्दै उनले छानबिनको समेत माग पत्रमा गरेका छन्। सबैले नियम-कानुन पालना गर्नुपर्ने, गल्ती गर्नेलाई त्यसको भागिदार बनाउनुपर्ने उल्लेख गर्दै उनले पत्रमा लेखेका छन्, ‘गल्ती सुधार गर्दै केयूको ब्रान्डलाई धूमिल हुन नदिऔँ, प्रश्न गरौँ।’
विश्वविद्यालयका अन्य प्राध्यापक, कर्मचारीले पनि छानबिनको माग राखेको स्कुल अफ म्यानेजमेन्टका एक सहप्राध्यापकले बताए। यस्ता गतिविधिले विश्वविद्यालयको पहिचानमा समेत दीर्घकालीन असर पुग्ने उनले बताए। तर, उपकुलपति भोला थापा, रजिस्ट्रार अच्युत वाग्ले, परीक्षा नियन्त्रक रामप्रसाद घिमिरे, डिन विजयकुमार केसी मानवीय त्रुटि भन्दै परीक्षा शाखाका सामान्य कर्मचारीलाई कारबाही गर्नु नपर्ने पक्षमा रहेको प्राध्यापकहरूले गुनासो गरे।
‘परीक्षा समितिको अध्यक्षता रजिस्ट्रारले गर्छन्, प्राज्ञिक परिषद्को अध्यक्ष उपकुलपति हुन्छन्,’ अर्का एक प्राध्यापकले भने, ‘फेल भएका विद्यार्थीको सूची समिति र परिषद्बाट पारित भएपछि मात्रै शैक्षिक उपाधि प्रदान गर्न दीक्षान्त समारोहमा पेस हुन्छ। रजिस्ट्रार, उपकुलपति, कुलपतिले समेत हस्ताक्षर गर्ने विश्वविद्यालयको सर्वोच्च निकाय सभामा किर्ते कागजात पेस भएर स्वीकृति पाउनु दुःखद् हो।’
परीक्षा नदिएका विद्यार्थीले अंकसमेत प्राप्त गरेको तथ्य भेटिएकाले दीक्षान्तमा उनीहरूको नाम मानवीय त्रुटिमा मात्र पेस भएको हुन नसक्ने अर्का एक प्राध्यापकले बताए। ‘छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग भइरहेको छ। तर विश्वविद्यालयका पदाधिकारीबाट सुनुवाइ भएको छैन,’ उनले भने।
दीक्षान्त समारोहमा कुलपति, सहकुलपति तथा शिक्षामन्त्री, सभाका सदस्यहरू,उपकुलपति,रजिस्ट्रार, डिनहरूलगायत पदाधिकारीलाई वितरण गरिएको हातेपुस्तिकामा समेत फेल भएका विद्यार्थीको नाम समावेश छ।
दीक्षान्त समारोहमा डिन केसीले ‘विश्वविद्यालयको ऐन, नियममा व्यवस्था भएको उपाधि प्राप्त गर्न प्राज्ञिक परिषद्ले तोकेबमोजिम सम्बन्धित तहको परीक्षाका आवश्यक सर्त पूरा गरी २०८१ मंसिर १२ सम्म स्नातकोत्तर र स्नातक तह उत्तीर्ण भई योग्य ठहरिएका सम्पूर्णलाई विश्वविद्यालय सभाबाट अनुमति प्राप्त निजहरूलाई योग्यताको प्रमाणस्वरूप प्रदान गरिने सम्बन्धित तहको उपाधिपत्र ग्रहण गर्नका लागि विद्यार्थी प्रस्तुत गर्ने अनुमति प्राप्त होस् भनी अनुरोध गर्दछु,’ भनी घोषणा गरेका थिए। कुलपति तथा प्रधानमन्त्रीबाट अनुमति प्राप्त भएपछि उनीहरूलाई दीक्षित गर्दै शैक्षिक उपाधि प्रदान गरिएको थियो।
उपकुलपति थापाले त्रुटि भएर दीक्षित हुनु नपर्ने विद्यार्थीको नाम ग्रेस लिस्टमा समावेश हुन पुगेको सूचना पाएको बताए। ‘त्रुटि भएको सूचना पाएको छु। शून्य त्रुटि भएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘त्रुटि सुधार गर्छाेँ।’
नाम समावेश भए पनि ती विद्यार्थीले शैक्षिक प्रमाणपत्र प्राप्त नगरेको उनले जनाए। ‘दीक्षित हुन सबै मापदण्ड पूरा नगरे पनि केही मापदण्ड पूरा गरेका विद्यार्थीको भूलवश यस्तो हुन पुगेको हुन सक्छ। विस्तृत बुझेर सच्याउँछौँ,’ थापाले भने।