काठमाडाैँ - नारायणी नदीमा असोज १२ गते आएको बाढीले क्षति पुर्याएकाे मध्यविन्दु नगरपालिका-१५ को बालसिद्ध आधारभूत विद्यालयको मर्मत गरि अध्यापन सुरु गरिएको छ। विद्यालयका कक्षा कोठा र फर्निचर लगायतका सामग्री सबै हिलोसहितको लेदो पानीले डुबाउँदा लामो समयसम्म विद्यार्थीलाई कक्षा कोठामा अध्यापन गराउन नसकेको विद्यालयले जनाएको छ।
विशेषगरि बाल कक्षा, पूर्वप्राथमिक तहका बालबालिकालाई अध्ययन गर्न असहज भएपछि अहिले पूर्ननिमार्ण गरेर बालमैत्री कक्षा व्यवस्थापन गरिएको हो। मध्यविन्दु नगरपालिकाको समन्वयमा जागृति बाल तथा युवा सरोकार नेपाल, नेपाल हिल्फे बिटिकम किन्डर इन चिल्ड्रेन नेपालको सहयोगमा बाढीबाट क्षति पुगेको विद्यालयको कक्षाकोठा बालमैत्री बनाइएको हो।
करिव १० लाखको लागतमा तीन वटा कक्षा रङरोगन, भित्तेलेखन, ईसीडी कक्षाको व्यवस्थापन गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए। विद्यालयको पुननिमार्णसँगै खुसीखुसी विद्यालयमा बालबालिका पुर्याउने अभियान अन्र्तगत बालसिद्ध आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ। यहाँ अध्ययनरत ७२ जना बालबालिकालाइ शैक्षिक सामग्री वितरण गरिएको हो। विद्यार्थीलाई झोला, कमी, कलम, ज्याकेट, टुटपेस्ट लगाएतका सामाग्री वितरण गरिएको जागृति बाल तथा युवा सरोकारका महासचिव शर्माले बताए।
मध्यविन्दु नगरपालिकामा शिक्षाको क्षेत्रमा बालबालिकाको शैक्षिक विकास गर्ने हेतुले खुसी पाठ्यक्रमको अवधारणा ल्याएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। त्यही अनुरुप आफूहरुले कार्य गर्दै आएको र असोज ११, १२ गते आएको बाढीले नगरपालिकाका विभिन्न ठाउमा र विद्यालयमा ठुलो क्षति पुगेकाले जागृति बाल तथा युवा सरोकारले पनि सहयोग गरेको बताए। मानिसलाई गास, बास, कपाससँगै स्वास्थ्य र शिक्षापनि आधारभुत आवश्यकतामा रहेकाले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। जागृति बाल तथा युवा सरोकारले शिक्षा क्षेत्रमा पुर्याएकाे सहयोग प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको उनले बताए।
विद्यालयमा खुसीखुसी विद्यार्थी पुर्याउने अभियानका साथ के गर्दा विद्यालयमा विद्यार्थी खुसी हुन्छन् र उनीहरु प्रभावित हुन्छन् भन्ने उद्धेश्यले आफुहरुले आवश्यकता अनुसार विगत १५ वर्षदेखि विद्यालयमा शैक्षिक सामाग्री, न्यानो कपडा वितरण गर्ने र अभिभावकसँ पनि जीवनयापनमा सहज हुने विषयमा छलफल गर्ने गरेको किन्डर नेपालका संयोजक दिपक बस्यालले बताए।
विद्यालयप्रति विद्यार्थीको रुचि बढाउन सकिएन भने उसले भविष्यमा गलत बाटो अपनाउन सक्छ भन्दै सुरुवाती दिनबाट नै विद्यालयमा विद्यार्थी पु¥याउने मुख्य उद्धेश्य रहेको उनले बताए।