काठमाडाैँ - जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गणेश आधारभूत विद्यालय गिडिचौरमा १२ जना मात्र विद्यार्थी छन्। त्यसमध्ये बाल विकास केन्द्रका मात्र १० जना छन्, अन्य कक्षा २ का हुन्। उनीहरूलाई पढाउने २ जना छन् ।
हरेक वर्षको भर्ना अभियानमा शिक्षकहरू अभिभावकको घरदैलोमा पुग्छन्, बच्चा पठाइदिन आग्रह गर्छन्। तर अभिभावकले विद्यार्थी पठाउँदैनन्। त्यही कारण कक्षा ५ सम्म पढाउने अनुमति भएकाे विद्यालयमा कक्षा ३, ४ र ५ मा विद्यार्थी शून्य भएका हुन्। विद्यालयमा भौतिक संरचनाको अवस्था राम्रो छ। घेराबारा गरिएको छ। खानेपानी र शौचालयको सुविधा छ।
२०४९ सालमा स्थापना भएको यस विद्यालयमा एक जना स्थायी शिक्षक छन्। उनी विद्यालयका प्रधानाध्यापक हुन्। काम पर्दा उनी पनि विद्यालयमा पुग्न सक्दैनन्। विद्यालय प्रायः बाल विकास सहजकर्ताका भरमा चल्छ। विद्यालयमा स्थायी शिक्षक दरबन्दी भने तीन वटा छ। विद्यार्थी नभएको भन्दै पालिकाले दुई शिक्षकलाई विद्यार्थी चाप भएको अर्कै विद्यालयमा पठाइसकेको छ।
प्रधानाध्यापक नन्दकृष्ण चौलागाईं नजिकै माध्यमिक विद्यालय भएकाले विद्यार्थी रोक्न नसकिएको बताउँछन्। ‘साना बच्चा दिदी-दाइसँगै माध्यमिक विद्यालयमा जान्छन्,’ उनले भने, ‘नजिकै निजी विद्यालय पनि छ। कतिपय अभिभावकले सदरमुकाम खलंगामा खोलिएका निजी विद्यालयमा छोराछोरीलाई पठाउँछन्।’
विद्यालयले मंसिर र चैतमा अभिभावक भेला बोलाउने गरेको छ। ‘त्यति बेला कि विद्यार्थी पठाइदिनुस् कि त विद्यालय नै खारेज गर्नुस् भन्ने प्रस्ताव लैजान्छौं,’ प्रधानाध्यापक चौलागाईंले भने, ‘भेलामा सबै अभिभावकले सकारात्मक कुरा राख्छन् तर आफ्ना बालबालिका पठाउँदैनन्।’
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न भने हानाथाप हुन्छ। विद्यालयमा चरम दलीय राजनीति हुने गरेको छ। अध्यक्ष हुने पक्षले मात्र विद्यार्थी पठाउने गर्छन्, अर्को पक्षले कार्यकालभरि विद्यार्थी पठाउँदैनन्। ‘कांग्रेस, माओवादीको अध्यक्ष आए एमालेले पठाउँदैनन्। अहिले एमालेनिकट व्यक्ति अध्यक्ष छन्, अन्यले विद्यार्थी पठाएका छैनन्,’ प्रधानाध्यापक चौलागाईंले भने।
विद्यालयमा अतिविपन्न परिवारका विद्यार्थी मात्रै आइरहेको अभिभावक ददिम सार्कीले बताए। उनले विद्यालयमा पठनपाठन पनि राम्रो नभएको बताए। ‘सरकारी स्कुलमा पढाउने शिक्षकका छोराछोरी बोर्डिङमा छन्,’ उनले भने।
नाजुक अवस्था देखिएका विद्यालयलाई गाभ्ने अभियान पनि तातोपानी गाउँपालिकाले चलाएको छ। ‘अहिले हरेक विद्यालय अनुगमन गरेर विद्यालयको टाउको गनिरहेका छौँ’ गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भने।