काठमाडौँ - संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को छैटौँ राष्ट्रिय महाधिवेशनबाट होमकुमार थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्।
राजधानीमा आइतबार सम्पन्न महाधिवेशनबाट थापालाई अध्यक्षमा फेरि चयन गरेको हो। महाधिवेशनले सर्वसम्मतिमा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थापाले बताए। उनीहरूको कार्यकाल तीन वर्षको रहनेछ।
नयाँ कार्यसमितिको सहअध्यक्षमा मोतीराम फुयाल तथा वरिष्ठ उपाध्यक्षमा दुई जना केशवराज पाठक र देवीदत्त पौडेल निर्वाचित भएका छन्।
उपाध्यक्षहरूमा नारायण पौडेल, अञ्जु गौतम, सरिता निरौला, रोहिणीरमण दवाडी, भवानी पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा, दीपक गौतम, सुधीरकुमार झा गरी ९ जना निर्वाचित भएका छन्। महासचिव भोलानाथ चालिसे, उपमहासचिवमा मनोज खनाल, अर्थ उपमहासचिवमा इन्दिरा धमला, सचिवमा वाम थुलुङ, यादव अधिकारी, जनकराज घिमिरे चयन भए। महिला सचिव एक जना मनोनित गरिने इस्टुले जनाएको छ।
यस्तै सदस्यहरूमा सुरेन्द्र मिश्र, केशवकुमार श्रेष्ठ, सुदीप बर्तोला, वामदेव वली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महाधिवे उद्घाटन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले निजी विद्यालयका शिक्षकहरू न्युनतम पारिश्रमिकमा काम गर्न बाध्य रहेको बताएका थिए।
अध्यक्ष थापाले भने, ‘निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीको अभिलेख नै छैन। निजी विद्यालयमा कार्यरत शिक्षकलाई नियुक्तपत्र दिइँदैन। कति बेला जागिर जान्छ भन्ने कुनै ठेगान हुँदैन।’ उनले शिक्षकलाई रोजगार दिने संस्थाहरू सामाजिक सुरक्षा कोषमा दर्ता हुनुपर्ने र यसलाई विद्यालयले तुरुन्त लागू गर्नुपर्ने बताए।
उनले भने, ‘सरकारले निजी विद्यालय र सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकबीच विभेद गरेको छ। निजी विद्यालयमा पढाउने शिक्षकहरुले पनि यही देशमा बसेर देशभित्रकै बालबालिकालाई पढाइरहेकोले तालिमको व्यवस्था गर्नुपर्छ।’
इस्टुले सोमबार काठमाडौँ घोषणापत्र जारी गर्ने जनाएको छ।