काठमाडाैँ - शिक्षण पेशा छोडेर तनहुँकी कल्पना गौली कृषि पेशामा लागेकी छिन्। व्यास नगरपालिका- २ कालिका मार्ग निवासी कल्पना गौलीले पछिल्लाे समय कृषि पेशाबाट नाम र दाम दुबै कमाउँदै आएकी छिन्। गौलीले कृषि पेशाबाट वार्षिक रुपमा २० लाख रुपैयाँ आम्दानी गर्दै आएकाे बताइन्।
गौलीले हालैमात्र व्यास नगरपालिका-५ ढोडेनीमा सिउँडी फल (ड्रागन फ्रुट) को व्यावसायिक खेती सुरु गरेकी छिन्।प्रकृति र माटोलाई पुज्दै, यही क्षेत्रलाई साधना केन्द्रको रुपमा स्थापित गराउन कृषि पेशामा लागेको गौलीको भनाइ छ। गौलीले वार्षिक रुपमा २० हजार रुपैँया बुझाउने गरी नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर व्यवसाय थालेको बताइन्।
गाैलीले वि सं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ मा ड्रागनका बिरुवा रोपेर शुरुवात गरेकी थिइन्।उनले गत वर्षमा १२ लाखभन्दा बढीको ड्रागन फ्रुट बिक्री गरेकाे बताइन्। प्रतिकिलो पाँच सय देखि छ सय रुपैयाँसम्म ड्रागन फ्रुट बिक्री गर्दै आएको गौलीले बताइन्।
गौलीले दुई वर्ष अघि भारतको हैदराबादबाट दुई हजार एक सय वटा ड्रागन फ्रुटका बिरुवा ल्याएर फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएकी छिन्। यस व्यवसायमा करिब डेढ करोड रुपैयाँ लगानी गरेको गौलीले जानकारी दिइन्। फार्ममा ड्रागन फ्रुटका साथै मौसम अनुसार तरकारीहरु कुरिलो, गिठा, भ्याकुर, पिँडालु, अदुवा, कुभिण्डो, सिस्नाे छन्। यसै वर्ष ड्रागन फल १६ लाख र बिरुवा चार लाख गरी २० लाखको बिक्री गरेको गौलीले बताइन्।
गौली २०४५ साल देखि २०६१ सालसम्म १६ वर्ष शिक्षण पेशामा लागेकी थिइन्। गौली घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको अध्यक्ष पनि हुन्। गौली भन्छिन्,' धैर्यपूर्वक कृषिकर्मलाई पूजाको रुप दिई व्यवसाय गरिन्छ भने नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ।'