काठमाडौँ - क्यानडा सरकारले विदेशी विद्यार्थीसँग विभिन्न शैक्षिक विवरण माग्न थालेको छ। सरकारले विदेशी विद्यार्थीहरूलाई इमेल पठाएर विभिन्न कागजातहरू पेश गर्न भनेको हो।
त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै इमेल पठाउन थालेकाे पाइएकाे छ।
टाइम्स अफ इन्डियाका अनुसार क्यानडाको इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग (आईआरसीसी) ले विदेशी विद्यार्थीहरूलाई इमेल पठाउन थालेको छ। तीमध्ये धेरै विद्यार्थीको भिसा दुई वर्षसम्म मात्र मान्य छ। क्यानडा सरकारले विदेशी विद्यार्थीहरूका लागि एकपछि अर्को नियमहरू कडा पार्दै गएको सन्दर्भमा इमेल पठाएर कागजात मागेको हो।
क्यानडाको ब्रिटिश कोलम्बियामा अध्ययनरत एक विद्यार्थीले मे २०२६ सम्मको भिसा रहे पनि सबै कागजात पुनः पेश गर्न भनिएको भन्दै गुनासो गरेका छन्। उनका अनुसार आईआरसीसीले विद्यार्थीसँग हाजिरीको विवरण र पार्ट-टाइम कामका बारेमा पनि जानकारी मागेको छ। एमएसएनका अनुसार धेरै विद्यार्थीहरूले आईआरसीसीलाई स्पष्ट सूचना दिन र विद्यार्थीका चिन्ता सम्बोधन गर्न माग गरेका छन्।
तत्काल पेश गर्न सल्लाह
शैक्षिक परामर्शदाताहरूले भने विद्यार्थीहरूलाई सम्भावित समस्याहरूबाट जोगिन आफ्ना कागजातहरू तत्काल पेश गर्न सल्लाह दिएका छन्।
टोरन्टोस्थित आप्रवासन सल्लाहकार मेहबूब रजवानीका अनुसार विद्यार्थीहरूलाई फिल्टर गर्न यो कदम उठाइएको हुन सक्छ। धेरै विद्यार्थीहरूले आफ्नो तोकिएको शिक्षण संस्था (डीएलआई) परिवर्तन गरी हाजिरीमा कुनै कडाइ नहुने शैक्षिक संस्थाहरूमा जान्छन् ताकि क्यानडा धेरै बस्न सकियोस्।
रजवानीका अनुसार यसलाई रोक्न क्यानडेली सरकारले थप आर्थिक मापदण्ड र अन्य सीमाहरू निर्धारण गर्ने गरेको छ।
विज्ञहरूका अनुसार यो निर्णय क्यानडाको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या घटाउने रणनीतिको हिस्सा हो। साथै, कति विद्यार्थी अध्ययन भिसामा आएर काम गर्न थालेका छन् भन्ने जानकारी राख्नु पनि सरकारको उद्देश्य हो।
पछिल्ला केही वर्षहरूमा क्यानडामा विदेशी विद्यार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।