भक्तपुर - भक्तपुरस्थित मिड भ्याली सेकेन्डरी स्कुलले विज्ञान तथा सूचना प्रविधि सम्बन्धी प्रथम प्रदर्शनी सम्पन्न गरेको छ। ‘मिड भ्याली साइन्स एण्ड आइटी एक्स्पो-२०८१’ प्रदर्शनीमा भक्तपुरका ३० भन्दा बढी विद्यालयका ४० भन्दा बढी परियोजनाले भाग लिएका थिए।
डा. राजेश पण्डित तथा डा. अच्युत तिवारीलगायतको नेतृत्व टोलीले गरेको मूल्यांकनबाट प्रदर्शनीमा सिभिएम सेकेन्डरी स्कुल प्रथम, युनिक एकेडेमी सेकेन्डरी स्कुल दोश्रो तथा नेपाल पुलिस स्कुल तेस्रो भएका छन्।
विजेताले क्रमशः ३० हजार, २० हजार, १० हजार नगद पुरस्कारका साथ शिल्ड तथा प्रमाणपत्र पाए। साथै, दर्शकको छनोटमा एभरेष्ट स्कुल परेको थियो। उसले नगद ५ हजारको पुरस्कार प्राप्त गरेकाे छ।
प्रदर्शनीमा स्मार्ट सिटी, रोबोट, बाढी रोकथामको उपाय, स्याफ्रोन फार्मिङ, बोयोनिट ह्यान्ड, फोहर व्यवस्थापन, जलविद्युत्, विद्युतीय उपकरणको सञ्चालन प्रक्रिया, वाटर प्युरिफिकेसन विधि, स्मार्ट पार्किङलगायत विभिन्न विधाहरु राखिएको थियाे। प्रदर्शनीमा सहभागी विद्यार्थीले उत्साहजनक रुपमा विभिन्न जिज्ञासा राखेका थिए।
कार्यक्रमको उद्घाटन रिजर्च सेन्टर अफ् अप्लाइड साइन्स एण्ड टेक्नोलोजी ‘रिकास्ट’का पूर्वनिर्देशक प्रा.डा. रामेश्वर अधिकारीले गरेका थिए। कार्यक्रममा बोल्दै उनले प्रत्येक सहभागी विद्यार्थीले नयाँ नयाँ प्रविधि र प्रयोगलाई उजागर गरेको र त्यसलाई आयोजक मिड भ्याली सेकेन्डरी स्कुलले प्रस्फुटनको मौका दिएको बताए। उनले विद्यार्थीहरुलाई यस प्रकारका कार्यक्रममा सहभागी हुन आग्रह गर्दैै विज्ञान तथा प्रविधिको माध्यमबाट मुलुकको मुहार उज्ज्यालो बनाृन सकिने धारणा राखे।
यस्तै कार्यक्रममा विद्यालयका प्राचार्य गोबिन्द बल्लव जोशीले मिड भ्याली स्कुलले विद्यार्थीको प्रतिभा उजागर गर्न तथा विज्ञान तथा प्रविधितर्फ विद्यार्थीको आकर्षण जागोस् भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए। उनले मिड भ्यालीले स्थापनाको छोटो अवधिमै शैक्षिक तथा रचनात्मक क्रियाकलापमा निरन्तर कार्यक्रमहरु जारी राख्ने बताए।
विद्यालयका प्रबन्ध निर्देशक राजु कोइरालाले विद्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी विद्यालयहरुलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगबाट भक्तपुर जिल्लाकै नमुना विद्यालयका रुपमा जाने आफूहरुको उद्देश्य रहेको बताए।
दुई दिनसम्म चलेको सो प्रदर्शनीमा करिब ५ हजार विद्यार्थीले अवलोकन गरेको सो कार्यक्रममा भक्तपुर जिल्ला प्वाब्सनका अध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा भक्तपुर एनप्याब्सनका अध्यक्ष सञ्जय खड्का, भक्तपुरका विद्यालयका प्राध्यानाध्यापक, शिक्षक तथा अन्य बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो।