भक्तरपुर - भक्तपुर सूर्यविनायक नगरपालीका नयाँ ठिमीमा रहेको मिड भ्याली सेकेन्डरी स्कुलले अन्तरविद्यालय विज्ञान प्रदर्शनीको आयोजना गरेको छ। विद्यार्थीहरूको क्षमता प्रस्फोटन गर्ने उद्देश्यले आयोजना गरिएको विज्ञान प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्था मिड भ्याली स्कुलले जनाएको हो।
२ दिने प्रदर्शनी प्रतियोगितामा ३० भन्दा बढी विद्यालयका ४० वटा भन्दा बढी स्टलहरू रहेका छन्। जसमा इन्जिनियरिङ, फिजिक्स, क्यामेस्ट्री लगायतका विधामा विद्यार्थीले आफ्ना आविस्कारलाई प्रदर्शनीमा राखेका छन्।
प्रदर्शनी आयोजनाको विषयमा बोल्दै विद्यालयका कार्यकारी निर्देशक राजु कोइरालाले विद्यार्थीमा लुकेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए।
‘विद्यालयमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीलाई विज्ञान र आविस्कारको क्षेत्रमा केहि गर्ने हौसला मिल्छ। विश्वमा भएका नयाँ आविस्कारहरू यस्तै परिक्षणबाट नै सुरु भएका हुन्। भक्तपुरमा रहेका विद्यार्थीको क्षमतालाई प्रस्तुत गर्न यहाँका विद्यालय सक्षम छन् भन्न पनि यस विज्ञान प्रदर्शनीको आयोजना गरिएको हो’,उनले भने।
प्रतियोगितामा उत्कृष्ट हुने प्रदर्शनी मध्यबाट प्रथम हुनेलाई नगद पुरस्कार ३० हजार, दोस्रो २० हजार र तेस्रो हुनेलाई १० हजार र सबैको रुचिमा परेको प्रदर्शनीलाई ५ हजार पुरस्कार सहित सर्टिफिकेटको व्यवस्था गरिएको छ। यस प्रतियोगितामा दश कक्षासम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ।
विद्यार्थीले प्रदर्शनी प्रतियोगितामा हाइड्रोपावर, सौर्य उर्जा, रोवर्ट, स्मार्टसिटी, सेक्युरिटी सिस्टम जस्ता उपकरण सहितका परियोजना कार्यलाई प्रदर्शनमा राखेका थिए। प्रदर्शनीलाई प्रमुख अथितिकाे रूपमा प्रा. डा रामेश्वर अधिकारीले उद्घाटन गरेका थिए। प्रदर्शनीलाई सूर्यविनायक प्याब्सनका अध्यक्ष दिनेश मैनाली र एनप्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अवलाेकन गरेका थिए।









