काठमाडाैँ - नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले एघारौँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ। यसपटक स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नतिजालाई औषतमा हेर्दा ४४.७४ प्रतिशत देखिएको छ।
स्नातकोत्तर तहमा ४५.९८ प्रतिशत, स्नातक तहमा ६५.६५ प्रतिशत र प्रमाणपत्र तहको लाइसेन्स परीक्षामा २२.५९ प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ।
यसपटक स्नातकोत्तर तहको लाइसेन्स परीक्षामा एमडी होमियोप्याथी, एमएस्सी अप्टोमेट्री लगायत विभिन्न १८ विषयका ८७ जनाले सहभागिता जनाएका थिए। त्यसमध्ये ४० जना (४५.९८ प्रतिशत) उत्तीर्ण भएका हुन्।
यस्तै स्नातक तर्फ व्याचलर इन एनेस्थेसिया, व्याचलर इन अप्टोमेट्री लगायत विभिन्न १३ विषयका एक हजार ४०३ जना सहभागी भएका थिए। त्यसमध्ये ९२१ जना (६५.६५ प्रतिशत) उत्तीर्ण भएका छन्।
यस्तै पीसीएल (प्रमाणपत्र तह) पीसीएल इन डेन्टल हाइजीन, पीसीएल इन फीजीओथेरापी लगायतका विभिन्न नौ विषयका एक हजार ९६१ जनाले सहभागिता जनाएका थिए। त्यसमध्ये एक हजार ५१८ अर्थात ७५.४१ प्रतिशत फेल भएका छन्। यस्तै ४४३ जना अर्थात २२.५९ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन्।
परीक्षा एडभान्स एजुकेशन एण्ड इनोभेटीभ रिसर्च सेन्टर प्रालि बबरमहल काठमाडौँ केन्द्रमा सोमबारदेखि बुधबारसम्म परीक्षा सञ्चालन भएको थियो। परिषद्ले उत्तीर्ण भएकाहरुको प्रमाणपत्रको वितरणका लागि पछि सूचना प्रकाशित गर्ने जनाएको छ।