काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्तिमा आफूले हस्तक्षेप नगरेको बताएका छन्। मंसिर २७ गते बिहीबार त्रिवि सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले हस्तक्षेप नभएकाे बताएका हुन्।
‘के भएर डिन नियुक्तिमा विलम्ब भयो ? नाम निकाल्नुहोस्, ‘प्रधानमन्त्री ओलीले भने, ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस्। निष्पक्ष ढंगले काम होस्। मबाट हस्तक्षेप भएको छैन। तर, मेरो नाम आउँछ। अरू के भयो थाहा छैन। मेरोबाट विलम्ब भएको छैन।’
प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीबाट डिन र क्याम्पस प्रमुख नियुक्त गर्न त्रिवि नेतृत्वलाई निर्देशन दिए। ‘नियुक्ति साँच्चिकै मेरिटोक्रेसीबाट हुनुपर्छ। एउटा समिति बनाएर मात्र मेरिटोक्रेसी हुँदैन,’ उनले भने।
नियुक्तिमा आफूले हस्तक्षेप नगरेको उनले बताए। ‘कुलपतिले हस्तक्षेप गर्यो भनिन्छ। प्रधानमन्त्रीलाई गाली नगरी हुँदैन,’ उनले भने, ‘हस्तक्षेप हुँदैन। हस्तक्षेप होइन संस्थाले निर्णय गर्छ।’
आफूले गर्न पाए हुन्थ्यो भन्नू स्वायत्तता नभएको उनले बताए। विश्वविद्यालय राम्रो होस् भन्नेमा कुलपतिले ध्यान दिने बताउदैँ ओलीले डिनको नाम निकाल्न निर्देशन दिए।
आगामी ७ पुसभित्र डिन नियुक्ति गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए। ‘७ पुसमा बस्ने अनौपचारिक सभामा नयाँ डिन लिएर आउनू,’ प्रधानमन्त्री ओलीले भने।