काठमाडाैँ - उपकुलपति रिक्त रहेका मुलुकका तीन वटा विश्वविद्यालयका लागि ३१ जनाबिच प्रतिस्पर्धा हुने भएको छ। हाल पोखरा, कृषि तथा वन विज्ञान र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति पद रिक्त छन् । ती विश्वविद्यालयमा उपकुलपति छनोटका लागि गठन भएको सिफारिस समितिले विभिन्न समयमा आवेदन आह्वान गरेको थियो ।
सिफारिस समितिका अनुसार पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाले आवेदन दिएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि ६ जनाले आवेदन दिएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका लागि १३ जनाले आवेदन दिएका छन्।
पोखरा विश्वविद्यालय गत असोज १४ गतेदेखि उपकुलपति पद रिक्त छ। सिफारिस समितिका अनुसार यस विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिनेमा प्राडा वेदराज केसी, प्राडा दीपकबहादुर भण्डारी, प्राडा ज्ञानेश्वर शर्मा, प्राडा विश्वराज अधिकारी, प्राडा केदारनाथ घिमिरे, प्राडा पुष्पराज शर्मा, प्राडा सरोज कोइराला, प्राडा निर्मला जम्मरकट्टेल, प्राडा विष्णुराज तिवारी, प्राडा विनयकुमार मिश्र, प्राडा टेकराज ज्ञवाली र प्राडा दीपकराज पौडेल छन्।
त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि प्राडा वीरेन्दकुमार लाल, प्राडा भागवत ढकाल, प्राडा गुरुप्रसाद सुवेदी, प्राडा भीमप्रसाद खतिवडा, प्राडा लेखप्रसाद निरौला, प्राडा ऋषिराम रेग्मी, प्राडा धनेश्वर नेपाल, प्राडा कृष्णकान्त पराजुली, प्राडा शान्तिकृष्ण अधिकारी, प्राडा जयन्त आचार्य, प्राडा लालमणि पाण्डे, प्राडा कार्तिकेय झा र प्राडा नवराज कट्टेलले आवेदन दिएका छन्।
यस विश्वविद्यालयमा तत्कालीन उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले गत साउन २५ गते राजीनामा दिएका थिए। विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ १ गते लामिछानेको राजीनामा स्वीकृत गरेका थिए।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि प्राडा अर्जुनकुमार श्रेष्ठ, प्राडा कल्याणी मिश्र त्रिपाठी, प्राडा पुष्करबहादुर पाल, प्राडा बलराम कुमार भट्ट, प्राडा शारदा थपलिया र प्राडा होमबहादुर बस्नेतसहित छ जनाको आवेदन परेको छ । यो विश्वविद्यालयमा गत असोज ८ गतेदेखि उपकुलपति पद रिक्त छ।
समितिले आवेदकको सोचपत्र र कार्ययोजनाको प्रस्तुतीकरणसहित अन्तर्वार्ताको मिति तोकेर नियुक्ति प्रक्रिया अघि बढाएका छन् । सिफारिस समितिले तीन/तीन जनाको नाम सिफारिस गर्ने र कुलपति तथा प्रधानमन्त्रीले तीमध्ये एक/एक जनालाई विश्वविद्यालयमा नियुक्ति दिने व्यवस्था छ।