काठमाडाैँ - बाजुरामा मंसिर, पुस र माघमा अत्याधिक चिसो हुने गर्दछ। यस बर्ष पनि चिसाेकाे मात्रा बढ्दै गएकाे कारण हिमाली क्षेत्रमा पर्ने अधिकांश ठाउँमा बाक्लो हिमपात पर्न थालिसकेकाे छ। यहाँ परेको बाक्लो हिमपातका कारण चिसोले यहाँका अधिकांश विद्यार्थीहरूको पढाई समेत प्रभावित हुँदै आएको छ।
बुढीनन्दा नगरपालिकाका- ९ सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालयका शिक्षिका जुना रावत हिउँको चिसोमा विद्यार्थीहरूलाई पढाई रहकी छिन्। उनले यस्ताे चिसाेमा पनि आफ्नो पाँच महिने शिशुलाई पिठ्यूँमा बोकेर विद्यार्थीलाई शिक्षा दिदैँ आएकी छिन्। जुनाले लामाे समय देखी घाम, पानी, हावाहुरी,हिमपात नभनि त्यस अनाथ विपन्न तथा जनजाति विद्यार्थीहरूलाई उज्वल भविष्यकाे मार्ग देखाउँदै अाएकी छिन्। हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा बाहिर बाक्लो हिम्पात भएको बेलामा पाँच महिनाका छोरीलाई पिठ्यूँमा बोकेर विद्यार्थीहरूलाई पढाइ गरेको दृश्य सबै अचम्मित हुने खालकाे नै छ।
विगतका वर्षहरूमा हिउँदमा यहाँका अधिकांश विद्यालय खाली हुन्थ्यो।तर अहिले हिउँदको चिसोमा होस् वा वर्षाको झरिमा होस् विद्यालय सञ्चालन हुन्छ। यद्यपि शनिबार र सार्वजनिक बिदामा भने बन्द हुने गर्छ।मङ्सिर, पुस र माघको चिसोका कारण बन्द हुने गरेको यो विद्यालय पछिल्लो समय सधैँ सञ्चालन हुँदै आएको छ। यसले गर्दा बालबालिकाहरू पढाइबाट वञ्चित हुनु परेको छैन।
शिक्षिका रावतले अभिभावकसँगै औल लेक गरेर पढाइबाट वञ्चित हुँदै आएका यहाँका भोटे समुदायका विद्यार्थीहरू अहिले विद्यालयमै बसेर पढ्न थालेपछि पढाइमा पनि राम्रो सुधार आएको बताउछिन्।
सिद्धेशवरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालय बाजुराको एक मात्र जनजातिको विद्यालय हो। यहाँ प्रायः भोटे समुदायका विद्यार्थी पढ्ने गर्दछन्।यसैगरी, विगत दुई वर्षदेखि जनजाति, दलित, हलियाका टुहुरा अनाथ बालबालिकाहरूलाई समेत विद्यालयमै राखेर पढाउने गरेको प्रधानाध्यापक तुलाबहादुर रावतले बताए।
यस विद्यालयमा १० जना टुहुरा, एक जना अनाथ, १५ जना जनजाति, द्वन्दपीडित र दलित साथै ४० जना भोट समुदायका गरी ६६ जना बालबालिकाहरू हिउँद र बर्खाको समयमा विद्यालयमै बसेर अध्ययन गरी रहेको प्रधानाध्यापक रावतले जानकारी दिए।