काठमाडाैँ - पछिल्लाे समय अष्ट्रेलिया संसदले १६ वर्षमुनिका बालबालिकालाई सोसल मिडियाको प्रयोग गर्नमा बन्देज लगाउने कानून पारित गरेकाे छ। अष्ट्रेलियाको यस्तो कदमका विषयमा विश्वव्यापी रुपमै बहस उत्पन्न भएको छ। यस्तो कानूनका कारण अष्ट्रेलियामा किशोर किशोरीहरु डार्क वेब अर्थात् इन्टरनेटको अवैध संसारमा जाने वा सामाजिक रुपमा अलगावको सिकार बन्नसक्ने चेतावनी विज्ञहरुले दिएका छन्।
सोसल मिडियाका बहुआयामिक असरहरुमा जोड दिँदै यदि त्यसलाइ नियन्त्रण नगरेमा गम्भीर लत तथा निर्भरताको सिर्जना गर्ने भन्दै नयाँ कानून तर्जुमा गरिएको हो। फेसबुक, इन्स्टाग्राम, स्नापच्याट, रेडिट तथा एक्सजस्ता सोसल मिडिया प्लाटफर्मको अत्यधिक प्रयोगले मानिसहरूको उत्पादनशीलतामा गिरावट आउने मात्र नभई मानसिक स्वास्थ्य तथा जीवनका सम्बन्धहरुमा समेत नकारात्मक असर पर्ने गरेको छ।
यदि सामाजिक सञ्जालको प्रयोग बुद्धिमत्तापूर्ण ढंगले गरिएन भने यसले हाम्रो मानसिक स्वास्थ्य तथा उत्पादनशीलतामा गम्भीर असर पूराउँछ। धेरै मानिसहरुले अन्जानवश समेत विभिन्न खालका अस्वस्थ आनीबानीहरु, जस्तै जतिबेला सुकै फोनमा नोटिफिकेसन हेर्ने, सोसल मिडिया फिडमा स्क्रोल गरिरहने र आफ्नो जीवनलाई अरुसँग तुलना गर्ने जस्ता अस्वस्थ आनीबानीको विकास गरेका हुन्छन्। यस्तो निर्भरताले मानिसको वास्तविक जीवनको अन्तरक्रियामा गिरावट ल्याउने मात्र होइन मानिसमा एन्जाइटी, एक्लोपनाको अनुभूति हुने र कतै हराउँछु कि भन्ने डर पैदा हुने मानसिक समस्या पनि सिर्जना गर्न सक्दछ।
त्यसैले आफ्नो डिजिटल जीवनमा कसरी नियन्त्रण राख्ने र सोसल मिडियाको लतबाट कसरी मुक्त हुने भन्ने कुरा अहिलेको प्रमुख सवाल बनेको छ।
यी टूल्स प्रयाेग गरी समयकाे निगरानी
फोनबाट सबै सोसल मिडिया एप हटाउनु अघिको पहिलो कदम भनेको आफ्नो विगतको सोसल मिडिया प्रयोगको सिंहावलोकन गर्नु हो। एप्पल र गुगल दुबैले प्रयोगकर्तालाई उनीहरुले कुन एपमा कति समय बिताउँछन् भन्ने कुरा थाहा पाउने टूल्स उपलब्ध गराएका हुन्छन्।
एप्पलको स्क्रिन टाइम : आइफोनमा यो फिचरले एप प्रयोगको विस्तृत विवरण उपलब्ध गराउँछ जसमा प्रयोगकर्ताले निश्चित एपमा बिताएको कूल समय, सबैभन्दा धेरै चलाउने एपको जानकारीका साथै तपाइँले आफ्नो फोन कति छिटो छिटो खोल्नुहुन्छ भन्ने जानकारी यसले दिन्छ। साथै यसमा कुनैपनि एप दिनमा अधिकतम कति समयसम्म चलाउने भन्ने दैनिक समयसीमा पनि तय गर्न सकिन्छ। यसरी समय सीमा सेट गर्दा हरेक दिन सोसल मिडियामा बिताउने समय काबुमा राख्न सकिन्छ।
गुगलको digital wellbeing : एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलले यस्तो टूल उपलबध गराएको हुन्छ जसले स्क्रिन टाइम र एप प्रयोगको ट्रयाकिंग गर्दछ। यो ग्राफले तपाईंको दैनिक गतिविधिको दृश्यात्मक प्रस्तुति दिन्छ जसले तपाईंलाई आफ्नो बानी व्यहोरा बुझ्न र सुधार गर्ने क्षेत्र पहिचान गर्न सघाउँछ।
विषमुक्ति एप अर्थात् डिटक्स एपहरुको प्रयोग
सामाजिक सञ्जालको लतबाट मुक्ति दिलाउन वा सोसल मिडियाको प्रयोग घटाएर असल डिजिटल बानीका लागि उत्प्रेरित गर्नका लागि विभिन्न एपहरु उपलब्ध छन्।
त्यसमध्येका केही यस्ता छन्: त्यसमध्य Dumb phone, यो एपले फोनको होमस्क्रिनबाट अनावश्यक वा कम आवश्यक एपहरु हटाउँछ, जसका कारण फोन प्रयोगकर्तालाई जथाभावी स्क्रोल गर्न निरुत्साहित गर्दछ। साथै बारम्बार फोन उठाउने हुटहुटीलाई पनि कम गर्दछ। सोसल मिडिया तथा फोनको प्रयोगलाई घटाउने यो पहिलो शालिन तरिका हो।
Opal ,यो एपले प्रयोगकर्ताको ध्यान भंग गर्ने खालका एपलाई ब्लक गरेर सामाजिक सञ्जालको लतलाई घटाउन सहयोग गर्दछ। यसले स्क्रिन टाइम ट्रयाक गरेर कति समय फोनको स्क्रिनमा बितायो भन्ने जानकारी पनि दिन्छ। साथै यसले लामो समय फोन प्रयोग गर्दाका नकारात्मक प्रभावको लेखाजोखा पनि गर्दछ। यो एपले तपाईंलाई आफ्नो प्रगतिका बारेमा साथीसँग अनुभूति शेयर गर्ने मौका पनि दिन्छ।
Forest ,रमाइलो तथा अन्तरक्रियात्मक एपको रुपमा रहेको यो एपले प्रयोगकर्तालाई फोनबाट टाढा रहन प्रेरित गर्दछ। तपाईंले केहीबेर फोन चलाउन छाड्नुभयो भने भर्चुअल रुख बढ्न थाल्छ। तर फोन प्रयोग गर्नुभयो भने रुख मर्दछ। धेरै भन्दा धेरै भर्चुअल रुख जम्मा गर्न सक्दा त्यसले भर्चुअल सिक्का प्राप्त हुन्छ।
प्रष्ट लक्ष्य तय
यदि सामाजिक सञ्जालबाट आफुलाई पूर्णरुपमा अलग गनृ सम्भव छैन वा तत्काल नचाहने हाे भने पनि यसको प्रयोग कम गर्नका लागि क्रमिक रुपमा लक्ष्यहरु निर्धारण गर्नुपर्दछ। आफ्नो समयसीमाको बारेमा व्यवहारिक हुनुपर्दछ। सोसल मिडियाको लत तोड्नका लागि समय लाग्दछ। त्यसैले विशेष लक्ष्यहरु परिभाषित गरी हरेक हप्ता स्क्रिन समयलाई २० प्रतिशतले कम गर्ने र प्रगतिको अनुगमन गर्नका लागि उल्लेखित टूलहरुको प्रयोग गर्न सकिन्छ।
बुद्दिमत्तासँग जोडाैँ
सोसल मिडियाको लतलाई छुटाउनका लागि एप मात्रै सफल र पर्याप्त हुँदैनन् यदि त्यसलाई आफ्नो दैनिक जीवनको सचेत दृष्टिकोणसँग संयोजन गर्न पनि सक्नुपर्दछ। सामाजिक सञ्जालमा बिताउने समयलाई पठन, व्यायाम, खाना पकाउने वा प्रियजनहरुसँग समय बिताउने जस्ता क्रियाकलापले प्रतिस्थापन गर्न सकिन्छ। यस्ता कार्यहरुले भौतिक संसारसँग पुनः जोडिन र समग्र रुपमा मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्दछ।