काठमाडाैँ - रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्क तथा सामुदायिक केन्द्रमा पुस्तकालय स्थापना गरिने भएको छ। स्केट एड नेपालले तिलोत्तमा नगरपालिका वडा न.४ डिंगरनगरमामा दोस्रो चरणको परियोजना अन्तर्गत सामुदायिक पुस्ताकालय भवन निर्माण गर्ने भएको हो।
जापानिज स्केटर तथा युटुबर सिमन इवाजावाको सहयोग र चन्दा संकलनबाट खेलाडीहरुलाई लक्षित गरी पुस्ताकालय भवन निर्माण गर्न लागिएको स्केटएड नेपालका अध्यक्ष जागृत पहाडीले बताए।पुस्ताकालयमा विश्वभरका खेल र अन्य ज्ञानसँग सम्बन्धित पु्स्तकहरु राखिने र पार्कमा स्केटका लागि आएका बालबालिकाहरुलाई बसेर होमवर्क गर्न मिल्ने गरी संरचना बनाइने पहाडीले बताए।
स्केटपार्क बनेसँगै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने स्केटर जन्माउन र दक्षिण एसियाली स्तरीय प्रतियोगिता आयोजना गर्न सफल भएको समेत उनले बताए। पुस्ताकालय निर्माणका लागि सहयोगको घोषणा गरेका जापनिज स्केटर तथा युटुबर सिमनले आफूले नेपालका बालबालिकाहरुलाई स्केटमा आर्कषित गर्न र अध्ययनमा सहयोग गर्ने गरी पुस्तकालय भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशि व्यक्त गरे।
अनुमाननित ३५ लाख लागतमा निर्माण गरिने पुस्तकालयले बालबालिकाहरुलाई खेलसँगै अतिरिक्त ज्ञान बृद्धिमा सहयोग गर्ने विश्वास लिइएको छ। सिमनले जापनामा पुस्तकालय भवन निर्माणका लागि अभियान चलाएर सहयोग गर्ने भएका हुन्। निर्माण हुने पुस्तकालयको निशुल्क सेवा लिन पाइने स्केट एड नेपालका सचिव विजय तामाङले बताए। उनका अनुसार हाल स्केट पार्कमा ४० जना बालबालिकाहरू निःशुल्क खेल्न पाएका छन्।
स्केट खेलसँगै बालबालिकाहरुलाई पाठ्यक्रमका किताब, कापी र खेलकुदका सामग्री समेत दिने गरिएको आयोजकले बताए।तिलोत्तमाबाट शुरु भएको स्केट पार्क (खेलमैदान) अभियान काठमाडौं, चितवन हुँदै अहिले देशव्यापी बनेको अध्यक्ष पहाडीले बताए।
स्केट एड नेपालको तिलोत्तमास्थित स्केट पार्कमै सिकेर केही दिनअघि कोरियाको जिन्जुमा भएको एसियाली स्केटबोर्ड प्रतियोगितामा बुटवलका यमबहादुर कामु र अभिषेक परियार उत्कृष्ट १६ मा परेका छन्।
२०१९ देखि तिलोत्तमास्थित स्केट पार्कमा स्केटबोर्डको निःशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता हुँदै आएको छ। यहाँ विभिन्न देशका स्केटरहरु आएर स्वयमसेवी रुपमा निशुल्क सेवा दिन आउने गर्छन्। अहिले पनि अमेरिकाका जोनाथन र डेनमार्ककका मेटिश जोथन स्वयसेवाका लागि आएका छन्।