काठमाडाैँ - बाल विकास कक्षाको स्तरउन्नति र सुधारका लागि काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरु अन्तर्राष्ट्रिय स्तरमा सिकाइ योग्य भएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रका शिक्षाविद्हरुले प्रशंसा गरेका छन्।
गत सोमबारदेखि चलिरहेको दक्षिण एशियाली मुलुकस्तरीय ‘एडभान्सिङ् फाउन्डेसनल लर्निङ् स् गोइङ् टु स्केल इन साउथ एशिया’ विषय कार्यक्रमका सहभागीहरुले महानगरपालिको शिक्षा नीति, शैक्षिक कार्यक्रम, पूर्वाधार, जनशक्ति, शिक्षक विद्यार्थी, विद्यालय र अभिभावकको सम्बन्ध जस्ता कार्यक्रमका बारेमा जानकारी लिएर स्थलगत अवलोकन गरेपछि थालिएका कार्यक्रमको छिट्टै नतिजा देखिने गरी अनुकरणीय प्रयास गरेको प्रतिक्रिया दिएका हुन्।
‘रचनात्मक सिकाइका लागि नवप्रवर्तनमा आधारित कार्यक्रम, मानव पुँजी विकासमा लगानी, विद्यालयको स्वच्छता, आत्मविश्वाशी र सकारात्मक विद्यार्थी र यसका लागि गरिएको पूर्वाधारमा लगानी अन्य देशका लागि पनि सिकाइ योग्य छ।’ उनीहरुको भनाइ थियो।
स्थलगत अध्ययनका लागि महानगरपालिका अधिकारीहरुलाई सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले प्रस्तुतिकरणमार्फत शैक्षिक सुधारका लागि गरेका नीतिगत प्रबन्ध, प्राथमिक क्षेत्र, बजेट र प्राप्त नतिजाका विषयमा जानकारी गराएका छन्।
बालुवाटारमा रहेको महेन्द्र माध्यमिक विद्यालयको प्रारम्भिक बाल विकास कक्षाको अवलोकन गराइएको थियो। महानगरपालिकाका कार्यक्रम तुलना योग्य, सिकाइ योग्य स्थानमा रहेको उल्लेख गर्दै शिक्षामा गरिएको लगानी सही मार्गमा रहेको अवलोकन गरेपछि बताएका छन्। अवलोकनमा सरकारी अधिकारी, विकास साझेदार, सोचकर्ता, अनुसन्धातालगायत व्यक्तित्वहरु सहभागी थिए।
महानगरपालिकाले शैक्षिक सुधारका लागि ‘शैक्षिक पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन, व्यवस्थापन तथा दिगोपना’ लाई प्राथमिकतामा राखेर लगानी गरिरहेको छ। प्रस्तुतिकरणमा झाले भने, ‘४ बर्षभन्दा कम उमेर भएका बालबालिकालाई सिसिडी (चाइल्ड केयर डिभलपमेन्ट) र ४ बर्षभन्दा माथि कक्षा ३ सम्मका बालबालिकालाई इसिडी (अर्लि चाइल्ड डिभलपमेन्ट) कार्यक्रम कार्यान्वयन गर्ने नीति अनुरुप काम गरिरहेका छौँ।’
‘ज्ञान, सिप र आचरणबाट आर्थिक रुपमा स्वाबलम्बन नागरिक उत्पादनको जग बसाउन प्रयत्न भइरहेको छ।’ झाले भने, ‘सिकाइलाई पुस्तकमा सिमित नगरी परिवेश र समाजबाट पनि सिक्ने अवसर प्रदान गर्नु सिर्जनात्मक सिकाइको मुख्य विशेषता हो।’
महानगरपालिकाका कार्यक्रममा जिज्ञासा राख्दै सहभागीहरुले, ग्रेड शिक्षक र विषयगत शिक्षकको व्यवस्था, विद्यार्थी भर्ना, कक्षामा नियमितता, अनियमित हुने विद्यार्थीहरुको निगरानी, स्थानान्तरणको अवस्था, संघीयतामा शिक्षा र यसमा स्थानीय सरकारका दायित्वका विषयमा जानकारी लिएका थिए।