काठमाडाैँ - बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त भएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपैयाँको सुनको तक्मा दिएर बिदाइ गरेका छन्। सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित भव्य समारोहकाबिच बिदाइ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसरा भण्डारीले जानकारी दिए।
उनले गत ३६ वर्षदेखि सोही विद्यालयमा अध्यापनरत शिक्षिका शर्मालाई बिदाइ गर्न ठुलो सङ्ख्यामा अभिभावक र विद्यार्थी भेला भएको बताए।२०४५ साल भदौ १२ गतेदेखि ज्ञानोदयमा अस्थायी शिक्षकका रूपमा सेवा प्रवेश गरेकी शर्माले २०४८ सालमा स्थायी भई २०८१ कात्तिक ३० गते सेवानिवृत्त भएकी हुन्।
झण्डै चार दशक शिक्षकका रूपमा निरन्तर सेवारत शर्माको बिदाइमा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारी परिवारले गरेको यो सम्मानले शिक्षक वर्गकै गरिमा बढाएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए।
उनले समाजमा शिक्षण पेशाप्रति बढ्दै गइरहेको निराशालाई पनि यसले उत्साहमा परिणत गर्न सहयोग पुर्याएको बताए। उनका अनुसार विद्यालय व्यवस्थापन समितिले सेवा निवृत्ति शिक्षक शर्मालाई एक लाख बराबरको सुनको तक्मा लगाएर भव्य कार्यक्रमका बिच सम्मानपूर्वक बिदाइ गरेको हो। प्रधानाध्यापक सापकोटाले शर्माको शैक्षिक योगदानको चर्चा गर्दै उनी हजारौँ विद्यार्थी र अभिभावकको प्रिय रहेकाे बताए।
विद्यालयले शिक्षक शर्माको संक्षिप्त जीवन उल्लेखित ताम्रपत्रसमेत प्रकाशन गरेको छ। एक लाखको सुनको तक्माबाहेक शिक्षक, कर्मचारीहरूको एकदिनको तलबबाट सङ्कलित ६५ हजार बराबरको सुनको गहनाले पनि शर्मालाई शिक्षक, कर्मचारी परिवारले सम्मान गरेको छ।
सो अवसरमा शिक्षक शर्माको जीवनी वाचन गर्दै ज्ञानोदयका सहायक प्रधानाध्यापक यमनारायण महतराले भूतपूर्व विद्यार्थीहरूको तर्फबाट मायाको चिनो प्रदान गरिएको बताए। खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले सुनको तक्मा लगाउनुका साथै ताम्रपत्र र गहना प्रदान गरेर शर्माको बिदाइ गरेका हुन्। सो कार्यक्रममा वडाध्यक्ष पूर्णबहादुर भण्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष मानबहादुर भण्डारीलगायतले उनको शैक्षिक योगदानको चर्चा गरेका थिए।