काठमाडौँ - माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा २ हजार ९२ जना परीक्षामा सहभागि हुन नपाउने भएका छन्।
शिक्षक सेवा आयोग मावि अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुन ६७ हजार २ सय ६८ जनाले आवेदन दिएका मध्य ६५ हजार १ सय ७६ जना मात्र परीक्षामा सहभागि हुन पाउने भएका हुन् ।
आवेदकले समय सीमाभित्र रकम नबुझाएका कारण आवेदन रद्द गरिइकाे आयाेगले जनाएकाे छ। २०७९ जेठ ५ गतेसम्म आवेदन दिने समय तोकिएकाे थियाे।
आयोगका अनुसार दरखास्त भरेका तर शुल्क नतिरेका, आधा शुल्क मात्र तिरेका र फाराम भर्दा बिगारेका उम्मेदवारको आवेदन रद्द भएको हो।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आवेदन दिनेमा प्रदेश एकबाट १० हजार ९४, मधेशबाट ८ हजार ६ सय ९७, बागमतीबाट १७ हजार ७८, गण्डकीबाट ५ हजार ६ सय ९६, लुम्बिनीबाट १० हजार ९ सय ६२, कर्णालीबाट ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशबाट ६ हजार ८ सय ३६ जनाले आवेदन दिएको जानकारी दिए।
मावि अध्यापन अनुमतिपत्रको परीक्षा असार १८ गते बिहान ८ बजे प्रदेशगत रुपमा सञ्चालन गर्ने आयोगले तयारी गरेको छ।
परीक्षामा ५० वटा वस्तुगत प्रश्न सोधिने र ५० अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुने आयोगले जनाएको छ। वस्तुगत प्रश्नमा नेगेटिभ मार्किङ हटाइएको छ।