काठमाडाैँ - नेपालबाट विदेश अध्ययनमा जान चाहने विद्यार्थीको रोजाइको गन्तव्य अष्ट्रेलिया हो। तर पछिल्लाे समय यस मुलुकलाई शैक्षिक गन्तव्य बनाउने विद्यार्थीकाे संख्यामा भने कमि आएकाे छ।
अष्ट्रेलियाले प्रदान गर्ने विश्वस्तरीय गुणस्तरीय शिक्षा, सहज जिवन शैली, रोजगारीको सहज उपलव्धता, आप्रवासी मैत्री नियम र नेपाली समुदायसँगको सहकार्यका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको जानकारहरू बताउँछन्। नेपाली विद्यार्थीले सुरक्षित करिअरको हिसाबले अष्ट्रेलियालाई उपयुक्त शैक्षिक गन्तव्य मान्दै आएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत तीन महिना (साउनदेखि असोज) सम्मकाे अवधिमा अष्ट्रेलियाका लागि २ हजार २ सय ६२ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) विद्यार्थीले लिएका छन्।आर्थिक वर्ष २०८० साउन १ देखि ०८१ असार ३१ सम्म १ लाख १२ हजार ५९३ वटा एनओसीमा अष्ट्रेलियाका लागि मात्र १४ हजार ३७२ वटा एनओसी विद्यार्थीले लिएका छन्।
अष्ट्रेलिया सरकारले २०२५ मा अन्तर्राष्ट्रिय विद्यार्थी कति ल्याउने भनेर नीति बनाएकाे थियाे तर पास भएन जुन नीतिले नेपालमा समेत असर परेको थियो। तर अहिले यो समस्या नरहेको जानकारहरू बताउँछन्।
विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका विषयमा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको केआईईसीका प्रबन्ध निर्देशक राजेन्द्र रिजालका अनुसार,'अष्ट्रेलिया सरकारले २०२५ बाट क्याप सिस्टम लागू गर्न खोजेको थियो। जसबाट कुन विश्वविद्यालयले कति अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन पाउने भनेर सिस्टम बन्ने थियाे जसकारण केही विश्वविद्यालयले भर्ना रोकेका थियाे। तर सिस्टम लागू नभएपछि भिसा सजिलै लागिरहेको छ।' उनि भन्छन्,'अष्ट्रेलिया अध्ययनमा जान गाराे हुन्छ भन्ने बजारमा रहेकाे हल्लाले नेपाली विद्यार्थीले भिसा एप्लाइ गर्न नै डराएकाे अवस्था छ।अष्ट्रेलियाकाे लागि नेपालबाट प्रक्रिया गर्दा हाल ९० प्रतिशत विद्यार्थीको भिसा लागिरहेको छ। अष्ट्रेलियाबाट भिसा थपको प्रक्रिया गर्दा ७३ प्रतिशतको भिसा लागेको छ।'
निर्देशक रिजालले विद्यार्थीलाई विदेश एप्लाई गर्नै वितिकै भिसा लाग्छ भन्ने भ्रममा नेपालको पढाइलाई रातारात नै छोडेर पछि भिसा नलागेको हकमा आत्तिनु भन्दापनि जुन देशमा एप्लाई गरेपनि नेपालबाट प्लेन नचडुन्जेल पढालाई निरन्तरता दिन सुझाव दिन्छन्। उनि भन्छन्,' हतार गरेर पछि पछुताउनु भन्दा जुनसुकै देश गएतापनि प्रकियाबद्ध रुपमा खुड्किलो चड्नुपर्छ। त्यसकारण योग्य र इच्छुक विद्यार्थीले अहिलेको भिसा पोलिसिमा आएको परिवर्तन अनुसार आफ्नो कदम चाल्नुपर्दछ'।
प्रवन्धक निर्देशक रिजालका अनुसार,'अष्ट्रेलियामा महँगो र कम खर्च लाग्ने दुवै खाले विश्वविद्यालयहरु छन्। प्राय जसाे १ वर्षको नेपाली १३ लाख देखि ३५ लाख रुपैँयासम्म लाग्ने विश्वविद्यालय छन्। विद्यार्थीहरुले आफ्नो आर्थिक क्षमताको आधारमा कलेज रोज्न पाउँछन्। अष्ट्रेलियाका विश्वविद्यालयहरूले छात्रवृृत्ति दिने भएकाले विद्यार्थीलाई केही हदसम्म राहत मिल्छ। तर विश्वविद्यालय अनुसार २० देखि ५० प्रतिशतसम्म छात्रवृत्तिकाे व्यवस्था गरेका हुन्छन्।'
रिजालका अनुसार,' विद्यार्थीहरू विशेष गरी पढ्दै काम गर्दा नेपालमा थाेरै कमाइ हुन्छ र लाखौँ खर्च गरेर पढेको हुन्छ तर तलब २०- २५ हजार हुन्छ बरु अष्ट्रेलियामा दुख भएपनि कमाइ पनि त राम्रो हुन्छ भन्ने मनसाय बनाइ धेरै विद्यार्थीले अष्ट्रेलिया राेज्ने गरेकाे छन्।' उनी भन्छन्,'पछिल्लाे समयमा नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया पर्नुकाे राम्रो डिग्री पनि हाे। राम्रो डिग्री लिएर राम्रो करिअर बनाउन नै विद्यार्थी अष्ट्रेलिया जान चाहेकाे पाइन्छ। अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुले दुई हप्तामा ४८ घण्टा काम गर्न पाउँछन्। यो अवधिमा काम गर्दा विद्यार्थीहरुले राम्रो पैसा कमाउछन्। बिदाको समय पुरै काम गर्न पाइने र पढाइ सकेपछि कामको अवसर सहजै मिल्ने र खर्च उठाउन सक्ने भएकाेले विद्यार्थीहरुले अष्ट्रेलिया राेज्दै आएका छन्।'
शिक्षा मन्त्रालयका अनुसार विगत १३ वर्षमा कुल एक सय पाँच देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन्। अवसर र स्तरीय शिक्षा हासिल गर्न पाइने भएकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको राेजाइमा अस्ट्रेलिया पर्ने गरेकाे छ।
ध्यान दिनुपर्ने कुरा
अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्नका लागि विशेषगरी तयारी कक्षा महत्त्वपूर्ण हुन्छ। रिजालका अनुसार,'तयारी कक्षाकाे लागी दुई महिनाको आईएलटीएस वा पीटीई गर्नुपर्छ। प्लस टु पछि १ वर्षको ग्याप भयो भने पनि प्रक्रिया अगाडि बढाउन मिल्छ। स्नातकको हकमा भने पढाइको ग्याप ५ वर्ष भए पनि हुन्छ। तर यो अवधिमा आफूले काम गरेको प्रमाण भने आवश्यक पर्छ। योसँगै विश्वविद्यालय, कलेज र कोर्स छनौट पनि विद्यार्थीले हेर्नुपर्ने हुन्छ। ‘कुन विश्वविद्यालय जाने हो ? कलेज कस्तो छ ? कहाँ बस्ने? आफ्नो आर्थिक क्षमता कति छ ? छात्रवृत्ति पाइन्छ पाइँदैन यी सबै कुरामा विद्यार्थीले नै ध्यान दिनुपर्छ।'
विद्यार्थीकाे संख्या घट्नुका यस्ता छन् प्रमुख ५ कारण
१) भिसाको मापदण्ड बढाएसँगै भिसा एप्लिकेसन फी बढेकाेले।
२) योग्य विद्यार्थीहरूको पनि तुलनात्मक हिसाबले भिसा रिजेक्सन अत्याधिक मात्रामा बढ्नु वा भिसा सक्सेस रेट घट्नु।
३) पारदर्शी रुपमा बैँकबाट उच्च आम्दानीको स्रोतकाे कारोबार देखाउनुपर्ने भएकाेले।
४) अष्ट्रेलिया सरकारले क्याप सिस्टम लागू गर्ने भन्ने हल्ला रहेकाेले तर याे सिस्टम लागु हुन सकेन।
५) शैक्षिक परामर्श व्यवसायीले विद्यार्थीलाई अष्ट्रेलिया उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा प्रदान गर्न हिचकिचाँउने गरेकाले।