काठमाडाैँ - सप्तरीकाे रूपनगर क्याम्पसले क्याम्पस वरपरका सरकारी विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ। वचत, लगानी एवं ऋण, खर्च व्यवस्थापन जस्ता विषयमा विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले यस तालिमकाे प्रदान गरेकाे हाे।
व्यवस्थापन विषय पढ्दै गरेका विद्यार्थीको व्यावहारिक ज्ञानमा वृद्धि गर्ने र तिनीहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने लक्ष्य सहित तालिम प्रदान गरिएको क्याम्पसका प्रमुख दीपक कुमार गजुरेलले बताए।
तालिम वित्तीय साक्षरताको महत्व र दैनिक जीवनमा वित्तीय व्यवस्थापनको भूमिका, भविष्यको सुरक्षाका लागि वचत र सही ढंगले लगानी गर्ने तरिकाहरूका बारेमा केन्द्रित थियो। उचित र जिम्मेवार तरिकाले ऋण लिने र खर्चको योजना बनाउने उपायहरू, बैकिङ् प्रणाली र प्रविधिको उपयोग, बैँक तथा वित्तीय संस्थाहरूको भूमिका र अनलाइन सुरक्षा र वित्तीय ठगीबाट बच्ने उपायहरूका बारेमा छुट्टा छुट्टै सेसन मार्फत् विद्यार्थीलाई जनकारी गराईएको गजुरेलले बताए।
सामुदायिक क्याम्पसले समाजलाई गर्ने योगदान अन्तर्गत तालिम आयोजना गरिएको उनले बताए। गत शनिबार भएको तालिमको प्रमुख प्रशिक्षकमा नबिल बैंक लिमिटेड, कञ्चनपुर शाखाका प्रबन्धक सुरज ठाकुर र उनको टिम संलग्न थियो।
तालिममा रूपनगर नन्दराज संग्रौला क्याम्पस वरपर रहेका छ वटा सरकारी विद्यालयका ६५ भन्दा वढी विद्यार्थी सहभागी थिए। सहभागी विद्यालयहरूमा, शंकर मावि, रूपनगर, सर्वोदय मावि, कञ्चनपुर, जनचेतना मावि, घोङ्गिदाहा, ठाकुरजी मावि, जण्डोल, महिकर मावि, पर्सवनी, र नन्द उमा पब्लिक मावि थिए।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले जीवन उपयोगी सीप सिकाउने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने योजना बनाएको जनाएको छ।