काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका स्थायी शिक्षकहरु वृत्ति विकासका लागि छात्रवृत्तिमा विद्यावारिधि अध्ययन गर्न विदेश जान्छन्, फर्किएर सेवा दिने कबुल पनि गरेका हुन्छन्। तर, नैतिकता र अनुशासन भुल्दै उनीहरु विदेशमै पलायन हुन्छन् नेपाल फर्किदैनन्।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, विभाग, अनुसन्धान केन्द्र र आंगिक क्याम्पसमा अध्यापनरत शिक्षकहरु वृत्ति विकासका लागि छात्रवृत्तिमा एमफिल तथा विद्यावारिधि अध्ययनका लागि विदेशिने तर उतै पलायन हुने क्रम रोकिएको छैन। त्रिविका अनुसार २०७१ देखि २०८१ सम्मको दश वर्षमा ९ सय ४६ शिक्षकहरु छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका तथा युरोपेली मुलुकहरुमा गएका छन्।
अझ चिकित्सा शास्त्र तथा इन्जिनियरिङ अध्ययन संस्थान र १० वटा आंगिक क्याम्पसको त त्रिविसँग विवरण छैन। तीमध्ये ५३ शिक्षकहरु अध्ययन पुरा गरे पनि स्वदेश फर्किएका छैनन्। विदेशमा अध्ययन पूरा गरी स्वदेश फर्किएर सेवा दिने सर्तसहित कबुलियतनामा गरे पनि शिक्षकहरु उतै पलायन हुनुले नैतिकतामाथि नै गम्भीर प्रश्न उब्जिएको प्राध्यापकहरु बताउँछन्।
शिक्षकहरुले जतिवर्ष अध्ययन बिदा लिएको हो, त्यति नै समय विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था त्रिविमा छ। तर पनि शिक्षकहरुले आफूले गरेका कबुल भुलेर सेवाको सट्टा राजीनामा पत्र पठाउने गरेको पाइन्छ। त्यसो त विश्वविद्यालयले यस्ता शिक्षकलाई कारबाही नगरेको पनि होइन।
अध्ययन बिदा सकेपछि नफर्किने शिक्षकलाई खाइपाई आएको तलबभत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने कानुनी प्रावधान छ। यस्तो अनुशासनहीन काम गर्नेहरुलाई तलब असुल उपरदेखि बर्खास्तसम्मका कारबाही गरिएको विश्वविद्यालयले जनाएको छ।
उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पढाउने गुरुहरुले नै नियम कानुन र नैतिकता पालना नगर्नु दुःखद् भएको विज्ञहरुको भनाइ छ। विश्वविद्यालय र राज्यले वृत्ति विकासमा सहयोग गर्ने तर विदेशमै पलायन हुनु विश्वविद्यालयमात्र नभई राष्ट्रमाथि कै घात भएको उनीहरु बताउँछन्। शिक्षकहरु छात्रवृत्तिमा अध्ययनका लागि विदेश जाने, तर नफर्कने प्रवृत्ति रोक्न विश्वविद्यालय र सरकारले कडाइ गर्नुपर्छ।