काठमाडाैँ - बेनी नगरपालिका- ९ नेप्टेचौरकी तारादेवी चोखाल अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन्। स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। विद्यालयको पूर्वविद्यार्थी रहेकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आएकी हुन् भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आएकी हुन्।
तत्कालीन समयमा कक्षा ५ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा चोखालकै नेतृत्वमा कक्षा ८ र कक्षा १० सम्मको पठनपाठन हुन थालेको छ। विगत दुई दशकको अवधिमा विद्यालयको तह मात्र बढेको छैन, विद्यालयको भौतिक र शैक्षिक वातावरणमा पनि व्यापक सुधार भएको छ। कच्ची र साँघुरा कोठामा पठनपाठन हुने विद्यालयमा अहिले सुविधायुक्त पक्की भवन बनेका छन्।
आधारभूत तहदेखि स्तरवृद्धि भएर माध्यमिक तहसम्मको पठनपाठन हुन थालेपछि स्थानीय बालबालिकालाई गाउँ छाडेर अन्यत्र अध्ययन गर्न जानुपर्ने झन्झट र बाध्यता हटेको छ।उक्त विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्तोषजनक नतिजा ल्याउने गरेको छ।
तत्कालीन समयमा कक्षा ३ सम्म पठनपाठन हुने यसै विद्यालयमा आफ्नो आधारभूत तहको पढाइ सुरु गरेकी चोखालले गलेश्वर मावि तोरीपानीबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् भने तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट स्नातक तह पास गरेकी थिइन्। स्नातक तहमा अध्ययन गर्दा गर्दै २०५० सालमा आफूले प्रारम्भिक तहको शिक्षा लिएको विद्यालयमा अस्थायी शिक्षकका रूपमा शिक्षण पेशामा जोडिएकी चोखालले जीवनको महत्त्वपूर्ण समय विद्यालय, विद्यार्थीकै हितमा खर्चिएकी छिन्।
'आफैले अक्षर चिनेको विद्यालयमा तीन दशकदेखि जोडिन पाउनुलाई मैले अवसर र कर्तव्यका रूपमा लिएकी छु, समाजको विश्वास र मेरो आत्मविश्वासले विद्यालयलाई नेतृत्व गर्न सक्षम बनाएको हो, घरपरिवारको सकरात्मक सहयोगले पनि विद्यालयको काममा निरन्तर लागिरहन हौसला मिल्ने गरेको छ', प्रअ चोखालले भनिन् ,'विद्यालयसँग आफ्नो पेशा, कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व जोडिएको छ'। वि स २०५२ को शिक्षक आयोगमा प्रावि तहको लिखित परीक्षा दिए पनि २०६१ सालमा मात्र नतिजा प्रकाशित भएको र आफू सोही विद्यालयमा पदस्थापना भएको उनले बताइन्।